नेपाल ओलम्पिक कमिटीमा अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम श्रेष्ठ निर्वाचित हुनुभएकाे छ ।

शनिबार भएको निर्वाचनमा नेपाल स्की संघका अध्यक्ष समेत रहनुभएका जीवनरामले नेपाल हकी संघका अध्यक्ष समेत रहनुभएका अर्का उम्मेदवार उमेशलाल श्रेष्ठलाई पराजित गर्दै चार वर्षे कार्यकालका लागि पुनः अध्यक्षमा चुनिनुभएकाे हाे ।

जीवनरामले १७ भोट ल्याउँदा उमेशलालले १० भोट प्राप्त गर्नुभयाे । दुवै जना यसअघिकाे अधिवेशनमा पनि अध्यक्षकाे प्रत्यासी बनेका थिए ।

उपाध्यक्षमा टेनिसकी ज्योति राणा, टेवलटेनिसका चतुरानन्द वैद्य, ह्यान्डबलका तेज गुरुङ, पौडीका अशोक बज्राचार्य र फेन्सिङका सुनील श्रेष्ठ निर्वाचित हुनुभएकाे छ ।

उम्मेदवारी दिएका सुटिङका पुष्पदास श्रेष्ठ, कुस्तीका समिम मियाँ अन्सारी र र्‍याफ्टिङका राजीव श्रेष्ठ पराजित हुनुभयाे ।

महासचिवमा ट्रायथलनका निलेन्द्राराज श्रेष्ठ निर्वाचित हुनुभएकाे छ। कराँतेका पुनेन्द्रविक्रम लाखेलाई ३ भोटले पछि पार्दै निलेन्द्राराज निर्वाचित हुनुभएकाे हाे ।

तीन जना सचिवमा जुडोका दीपकहर्ष बज्राचार्य, ब्याडमिन्टनका रामजीबहादुर श्रेष्ठ र कबड्डीकी तुलसी थापा निर्वाचन भएका छन्।

सचिव पदमा राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव समेत रहेका उसुका केशवकुमार विष्ट १ भोटले पराजित हुनुभयाे ।

सदस्यमा दीर्घबहादुर केसी (फुटबल), प्रकाश शमसेर राणा (तेक्वान्दो), टासी घले (गल्फ), रमेश सिवाकोटी (आर्चरी), गोपालसुन्दर लाल कक्षपति (साइक्लिङ), होम दोङ (बास्केटबल) र राम अवाले (बक्सिङ) निर्वाचित हुनुभएकाे छ ।

भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा पराजित हुनुभयाे । कमिटीकाे उपमहासचिवमा पिताम्बर तिम्सिना र कोषाध्यक्षमा रतनकुमार टण्डन निर्विरोध चयन हुनुभयाे ।

Facebook Comments