पोखरा महोत्सव जारी, जुलोजिकल पार्क, कृषि उत्पादनमा दर्शकको चासो
पोखराको अमरसिंह चौरमा जारी नवौ संस्करणको महोत्सवमा दर्शकको संख्यामा उल्लेख्य बृद्धि भइरहेको आयोजकले जनाइको छ । महोत्सवमा सहभागीहरु लेखनाथको पचभैयामा निर्माणधिन रहेको पोखरा जुलोजिकल पार्क अवलोकनमा समेत चासो राख्ने गरेका छन् ।
महोत्सव स्थलबाट जंगलको झल्को दिने गरी सिंगार पटार गरिएको बसबाट निःशुल्क जुलोजिकल पार्कको अवलोकन गर्न जाने व्यवस्था मिलाइएको यातायात ब्यवस्थापन उपसमिती संयोजक श्याम कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा विशेष गरी कृषि, दैनिक उपभोग्य सामाग्री तथा जाडो यामका सामाग्रीहरुको बिक्री वितरण उल्लेख्य मात्रामा भएको महोत्सव प्रचार प्रसार संयोजक शान्त बहादुर थापाले जानकारी दिनुभयो । महोत्सवको बिहानी संस्करणमा तरेली सांस्कृतिक परिवारको सांस्कृतीक नृत्य दैनिक रुपमा हुने गरेको छ ।
महोत्सवमा सोमबार बद्री पंगेनी, जीवन दाहाल, रामजी पौडेल, करन तामाङ, पार्वती जिसी, सविना गुरुङ, मीना श्रीष, विश्चल दवाडी लगायतको प्रस्तुती रहने छ भने लाइभ कन्सर्टतर्फ लोक ब्याण्ड प्रश्न र ख्यातिप्राप्त ब्याण्ड मंकी टेम्पलको प्रस्तुतीमा दर्शकले मनोरन्जन लिन सक्नेछन् ।
यसका साथै भने हास्यब्यङ्ग्य तर्फ अर्जुन (पाँडे) र कुमार (जिग्री)को पस्तुती रहने छ । झांकी प्रदर्शनी तर्फ रामबजार पुन समाजको मौलिक सोरठी नृत्यको प्रत्यक्ष प्रस्तुती रहने आयोजक युनाइटेड क्लवले जनाएको छ ।

