वाइडबडी प्रकरण : लेखा समितिका सभापतिले सक्कली प्रतिवेदन गायब पारेको आरोप
संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले नै वाइड बडी विमान सम्बन्धि छानविन गरी तयार पारिएको सक्कली प्रतिवेदन गायब बनाएको गम्भिर आरोप लगाउनुभएको छ ।
वाइडबडी खरिद प्रकरण छानबिन उपसमितिका सदस्य समेत रहनुभएका यादवले सोमबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा समितिका सभापतिबाट नै समितिको पूर्ण बैठकले मिडियाको रोहबरमा पारित गरेको प्रतिवेदनका मुख्य–मुख्य अंशहरु नै परिवर्तन गरिएको आरोप लगाउनुभयो ।

उहाँले सभापति शाहको कदमले संसदीय मर्यादमा आँच आएको महशुस भएको पनि उल्लेख गर्नुभएको छ । सांसद यादवले विभागीय मन्त्रीलाई नैतिक जिम्मेवारी ठहर गर्दै कानुनी कारबाहीको लागि सिफारिश गर्नेगरि लेखा समितिको पूर्ण बैठकले गरेको निर्णयको पाना नै चोरी भएको उल्लेख गर्नुभयो । उहाँले आफूले समितिमा लिखित रुपमा प्रतिवेदन फेरिएको बारे फरक मत दर्ज गर्ने बताउनुभएको छ ।
वाइडबडी खरिद प्रकरण नेपालको इतिहासमा ठूलो घोटाला भएकोले यो प्रकरणमा कर्मचारीमात्रै नभएर ठूला नेतापनि दोषी रहेको उहाँको आरोप छ । यस प्रकरणमा अब ठूला नेता वा मन्त्रीहरु कोही पनि कारबाहीमा नपर्ने यादवको दावी रहेको छ ।
‘भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने भनेर जतिसुकै ठुला कुरा गरेपनि यो देशमा भ्रष्टाचार गर्ने ठूला माछा जालमा पर्दैनन् भन्ने अब प्रष्ट भयो । भ्रष्टाचार गर्ने ठूला माछा पर्ने महाजाल अहिलेसम्म नेपालमा बनेको छैन् ।’ यादवको भनाई थियो ।
फरक प्रसँगमा उपसमितिको प्रतिवेदनमा यस प्रकरणमा विभागीय मन्त्रीसमेत रहनुभएका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको नाम छुट्नुको मुख्य कारण लेखा समितिलाई विवरण पठाउने मन्त्रालयको नेतृत्व दोषी रहेको यादवको आरोप रहेको छ ।
मन्त्रालयले पठाएको विवरण देखाउँदै उहाँले लेखा समितिलाई मन्त्रालयबाट प्राप्त विवरण अनुसार देउवाको नाम नभएकाले नै जीतेन्द्रनारायण देवलाई कारबाहीको लागि सिफारिस गरिएको जानकारी दिनुभयो ।
यादवले वाइडबडी खरिद प्रकरणमा संलग्न रहेका बहालवाला मन्त्री रवीन्द्र अधिकारी, सचिव र महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बनको माग गर्नुभएको छ । उनीहरुले नै प्रमाण नष्ट गरिरहेको यादवको जिकीर छ । अहिले विभागीय मन्त्री अधिकारी यो प्रकरणमा आफैँ धामी र आफैँ बोक्सी बनिरहेको यादवको आरोप रहेको छ ।

