दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटियो
इन्डोनेसियामा गत वर्ष अक्टोबरमा दुर्घटनाग्रस्त लायन एयरको विमानको दोस्रो ब्ल्याकबक्स भेटिएको छ । इन्डोनेसियाको राष्ट्रिय यातायात सुरक्षा समितिका उपप्रमुख हारयो सातमिकोले सोमबार विहान दोस्रो ब्ल्याकबक्स भेटिएको जानकारी दिनुभयो ।
अधिकारीहरुका अनुसार उडेको केही समयभित्रै दुर्घटनामा परेको लायन एयरको उक्त नयाँ विमानसम्बन्धी तथ्य बुझ्न ब्ल्याकबक्सले सहयोग पुग्ने छ । बोइङ ७३७ म्याक्स श्रेणीको नयाँ विमान राजधानी जकार्ताबाट उडेको १३ मिनेटमै राडारको सम्पर्कबाट बेपत्ता भएको थियो ।
उक्त विमान जाभाको तटीय समुद्रमा खसेको थियो । दुर्घटनामा विमानमा यात्रारत सबै १८९ जनाको मृत्यु भएको थियो । विमान उडेको केही समयपछि पाइलटले विमान पुनः जकार्ता फर्काउन लागेको बताएपनि विमान दुर्घटनामा परहेको थियो ।
अनुसन्धानकर्ताहरुले लायन एयरको जहाजमा पहिल्यैदेखि समस्या आएको पाइएकाले उडाउन नहुने अवस्थामा रहेको बताउँदै आएका छन् । उड्डयन विज्ञहरुका अनुसार ब्ल्याकबक्समा कुनै पनि विमान दुर्घटनाका बारेमा झण्डै ९० प्रतिशत सत्य कुरा थाहा हुने गर्दछ ।
विमानका यात्रुको अनुरोधमा लायन एयरले ब्ल्याकबक्स खोजीका लागि २६ लाख अमेरिकी डलर भुक्तानी गरी एउटा डच कम्पनीलाई जिम्मा लगाएको थियो । विमान निर्माता कम्पनी बोइङविरुद्ध मृतकका झण्डै ३० जना आफन्तले कानुनी कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेका छन् ।
उनीहरुले बोइङ ७३७ म्याक्स मोडेलमा प्राविधिक समस्या रहेको बताउँदै आएका छन् । बोइङको म्याक्स श्रेणीका विमानलाई विश्वकै नयाँ र राम्रो व्यावसायिक उडान गर्ने विमानका रुपमा लिइन्छ ।

