पोखरामा स्वर्णपदक विजेता महर्जन सम्मानित
रत्न श्री जिम फिजिकल एण्ड फिटनेश क्लबले विश्वस्तरिय वडिविल्डिङ प्रतियोगितामा स्वर्ण पदक जितेर नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल महेश महर्जनलाई बुधवार पोखरामा सम्मान गरेको छ ।
सन २०१८ मा चियङमई सिटी थाइल्याण्डमा भएको १० औं वल्र्ड वडिविल्डिङ एण्ड फिजिक स्पोर्ट च्याम्पियनसिपमा पुरुष शारिरीक सुसंगठन प्रतियोगिताको ७५ केजी तौल समूहमा वडिविल्डर महर्जनले स्वर्ण पदक चुम्दै नेपालको नाम चिनाउन सफल हुनुभएको थियो ।
कार्यक्रममा महर्जनलाई रत्नश्री जिम नदिपुर, लेकसाइड, शान्तिनगर र लेकसाइडको तर्फबाट १ लाखसहित खादा र मायाको चिनोले सम्मान गरिएको थियो । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा पोखरा वडिविल्डिङ संघका अध्यक्ष पवन प्रजापतीले २५ हजार र दि जाइन्ट फिटनेश बगरले १० हजार सहित खादा लगाएर सम्मान गरेको थियो।
कार्यक्रमका अतिथि पोखरा महानगरपालिका वडा नं. ३ का अध्यक्ष रविन्सन प्रजुले सबै खेल एकै प्रकारको नभएको र बडिविल्डिङ आफूलाईपनि मनपर्ने खेल रहेको बताउनुभयो । नेपाल खेलक्षेत्रमा निकै पछाडि भएपनि महेश महर्जन जस्ता खेलाडीहरुले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागी देश र समाजको लागि गरेको त्याग र तपस्यालाई कसैलेपनि विर्सन नहुने जानकारी गराउनुभयो ।
त्यसैगरी कार्यक्रमका संयोजक तथा बडिविल्डर कमल भण्डारीले वडिविल्डिङ खेलको लागि लगानी, समय, व्यक्तिगत त्याग, पारिवारिक तथा सामाजिक सहयोग उत्तिकै आवश्यक रहेकोमा जोड दिदै भन्नुभयो ‘महर्जनले जुन देशलाई चिनाउने काम गर्नुभयो त्यसैगरी अन्य खेलाडी पनि महर्जन जस्तै उत्पादन हुन सकोस्’ । सम्मानित महर्जनले आफूलाई जुन पोखरेलीहरुले सम्मान गरेकोमा हार्दिक आभार व्यक्त गर्दै राज्यले वडिविल्डर खेलको विकासमा खासै ध्यान दिन नसकेको बताउनुभयो ।
‘वडिविल्डिङ खेल अत्याधिक महंगो छ र राज्यले वर्षमा जम्मा ६ लाख दिएर ४ वटा गेमको गर्न लगाउछ मात्रै १ गेम खेलाउन पनि मुस्किल पर्न जान्छ क्रिकेट र फुटवलमा जुन लगानी गरिरहेको छ’ उहाँले भन्नुभयो ‘त्यसरी नै वडिविल्डिङलाई अझ बढि लगानी गर्न आवश्यक छ तर राज्यले खासै चासो र सहयोग गरेको छैन ।’ विक्रम उदासले सञ्चालन गर्नुभएके कार्यक्रमको रत्नश्री जिमका संस्थापक अध्यक्ष शंकरमान उदासले समापन गर्नुभएको थियो ।

