सामाजिक सञ्जाल सञ्चालनका लागि अनिवार्य दर्ता गर्नुपर्ने
अवदेखि सामािजक सञ्जाल नेपालमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएको छ । सरकारले फेसबुक, ट्वीटर, स्काइप, ह्वाट्स एप, भाइबरजस्ता सामाजिक सञ्जाललाई नेपालमा सञ्चालनका लागि दर्ता गर्नुपर्ने व्यवस्था सहितको विधेयक संसदमा दर्ता गराएको छ ।
सामाजिक सञ्जाल दर्ता र नियमनका लागि विभाग र सूचना प्रविधि अदालत गठनसम्बन्धी व्यवस्था मार्फत् दर्ता र कानुनी कार्वाहीको परिकल्पना विधेयकमा गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरेको विधेयकमा सञ्चालनमा रहेका सामाजिक सञ्जालले समेत कानुन तयार भएपछि दर्ता गर्नुपर्ने उल्लेख छ ।
कानुन लागू भएपछि हाल सञ्चालनमा रहेका फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स एप, स्काइप लगायतका सामाजिक सञ्जालले पनि नेपालमा दर्ता गर्नुपर्ने हुन्छ । सरकारले नयाँ तथा पुराना दुवै सामाजिक सञ्जाललाई सञ्चालनको लागि अनिवार्य दर्ता गर्नुपर्ने व्यवस्थ गर्न लागेको हो । विधेयकमा सामाजिक सञ्जालमा सम्प्रेषण गरिएका कानुनविपरीतका विषय हटाउन सरकारले निर्देशन दिन सक्ने व्यवस्था गरिएको छ ।
सामाजिक सञ्जालमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, सुरक्षा, राष्ट एकता, स्वाधीनता, स्वाभिमान वा केन्द्र, प्रदेश र स्थानीय तहवीच सुसम्बन्ध खलल पर्ने खालका सामग्री हटाउन निर्देशन दिन सक्ने प्रावधान विधेयकमा राखिएको छ ।
विधेयकले कानुनले बिना कुनै तथ्य वा आधार कसैको चरित्र हत्या गर्ने उद्देश्यले प्रचलित कानुनबमोजिम गाली बेइज्जती मानिने प्रावधान राखेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले सरकारले दिएको निर्देशन अनुसार कुनै सामग्री नहटाए सामाजिक सञ्जालका सञ्चालकलाई तीन वर्षसम्म कैद वा तीस हजारसम्म जरिवानाको व्यवस्था विधेयकमा छ ।

