दमन गरे मुखतोड जवाफ, चन्दा नैसर्गिक अधिकार : महासचिव विप्लव
विप्लव नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीले सरकारले लगाएको प्रतिबन्धलाई ‘हास्यास्पद’ भन्दै प्रतिवाद गर्ने जनाएको छ । महासचिब नेत्र विक्रम चन्द(विप्लव)ले विज्ञिप्ती जारी गर्दै प्रतिबन्धलाई हास्यास्पद रहेको टिप्पणी गर्नुभएको हो । यसैगरी विज्ञप्तिमा सरकारले दमन गरे उपयूक्त जवाफ फर्काउने चेतावनी समेत सो पार्टीले दिएको छ ।
केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि दमन ग¥यो भने त्यसको मुखतोड जबाफ दिइने विज्ञप्तिमा उल्लेख छ । फागुन २८ गते मङ्गलबारको मन्त्रिमण्डल बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएपछि सो पार्टीले यस्तो प्रतिक्रिया जनाएको हो ।
बुधबार जारी गरिएको विज्ञप्तिमा आफूहरूले कुनै विदेशी केन्द्रबाट पैसा नलिएको र दलाली नगरेको जनाउँदै आफ्नै बलबुदाँमा क्रान्ति अगाडी बढाउने क्रममा चन्दा उठाएको उल्लेख छ । विज्ञप्तिमा लेखिएको छ ‘हामीले कुनै विदेशी केन्द्रबाट पैसा हसुरेका छैनौँ, कसैको दलाली गरेर कमिसन खाएका छैनौँ । हामी आफ्नै बलबुतामा क्रान्ति हाँक्दैछौँ । अरू कसैका लागि नभएर जनता र राष्ट्रको भविष्यका लागि लड्दैछौँ भने चन्दा उठाउनु हाम्रो नैसर्गिक अधिकार नै हो ।’
साथै विज्ञप्तिमा भ्रममा नपर्न साथै दलाल पुँजीवादी सत्तालाई समाप्त पार्ने क्रान्तिलाई सम्पूर्ण खालको सहयोग गर्न विनम्र अनुरोध समेत गरिएको छ । विज्ञप्तिमा आफ्नो पार्टीले चुनाव बहिष्कार गरेयता सरकारले अघोषित रुपमा प्रतिबन्ध लगाउँदै आफ्नो पार्टी र कार्यक्रमलाई दमन गरिरहेको उल्लेख छ ।
’हालै कथित अप्रेसनका नाममा कपिलवस्तुको शिवगढी अञ्चलपुरका युवा दुर्गा रोकालाई गिरफ्तारपछि ट्वाइलेट (पहिले जङ्गलमा भन्ने आएको थियो) मा लगेर गोली हानिएको छ । सयौँ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरेर बन्दी बनाइएको छ । झूट्टा मुद्दा व्यापक लगाइएको छ ।’ विज्ञप्तिमा लेखिएको छ ।

