विप्लव नेतृत्वको नेकपाकाे बन्दले जनजीवन प्रभावित

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित बनेको छ । पोखरा लगायत देशैभर लामो तथा छोटोदुरीका सार्वजनिक सवारी साधान दिनैभर चल्न सकेनन ।

पोखराबाट छुट्ने लामो दुरीका सवारी साधनका टिकट काउण्टर बन्द रहेका थिए । मोटरसाइकल र निजी सवारी साधन चलेपनि सार्वजनिक सवारी नचल्दा जनजीवन प्रभावित बनेको हो । साँझबाट सवारी आवागमन खुल्ला भएको छ ।

यसअघि पोखराको सभागृहमा र भण्डारढिकमा शंकास्पद बस्तु फेला परेको थियो । सभागृहको ट्राफिक प्रहरी बस्ने पोष्टमा शंकास्पद बस्तु भेटिएको हो । उक्त बस्तु डिस्पोजल गरिएको र बम नभएको प्रहरीले जनाएको छ ।

भण्डारढिकमा पनि पृथ्वी राजमार्गको मुख्य सडकमा नै शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । सभागृहमा भित्र माटोले भरेको डिब्बा रहेको र अन्य विष्फोटक पदार्थ केही नभएको पाईएको तथा भण्डारढिकमा तार जडित सकेट जस्तो देखिने शंकास्पद बस्तु रहेको र उक्त बस्तुलाई डिस्पोज गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार बाग्लुङ नगरपालिका २ शिवधारा टोलमा, गोरखा नगरपालिका ६ भिआईपि टोलको चोकमा, स्याङ्जाको फेदिखोला गाउँपालिका २ भालुपहाडमा, नवलपरासीको गैडाकोटमा शंस्कास्पद बस्तु भेटिएको थियो । ति सबै ठाउँमा प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु नष्ट गरिएको र घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments