गण्डकी मेडिकल कलेजका सञ्चालकलाई कानुन अनुसार कार्वाही अगाडि बढ्ने
गण्डकी मेडिकल कलेज (जिएमसी)का सञ्चालकलाई कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढ्ने भएको छ । उच्च अदालत पोखराले कलेज सञ्चालक खुमाप्रसाद अर्यालले दिएको रिट निवेदन उपर अन्तरिम आदेश दिन अस्वीकार गर्दै कानुन अनुसार कार्वाही प्रक्रिया अगाडि बढाउन सरकारलाई आदेश दिएको हो ।
उच्च अदालत पोखराका मूख्य न्यायाधीश कुमार चुँडाल र न्यायाधीश रामचन्द्र यादवको संयुक्त ईजलाशमा बुधबार र विहीबार लगातार भएको बहसपछि विहीबार सञ्चालक अर्यालका माग बमोजिम अन्तरिम आदेश दिन नमिल्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘जाहेरवालाले उल्लेख गरेका प्रतिवादी मध्येका लक्ष्मणप्रसाद शर्मा र सन्तोष खनाल उपर अदालतको अनुमतिले पक्राउ पुर्जी जारी भएको एवम् निवेदकहरु उपरसमेत पक्राउ पुर्जी जारी गर्न कास्की जिल्ला अदालतबाट मिति २०७५ फागुन २३ गते अनुमति प्राप्त भएकोसमेतको स्थितिमा निवेदकहरुको कानूनी अधिकार आघात पर्ने आशंका विद्यमान नदेखिएकाले अन्तरिम आदेश जारी गर्न मिलेन, कानून अनुसार गर्नु ।’
अदालतको निर्णयपछि पक्राउ परेका २ जनाबिरुद्ध ठगी मुद्दा अगाडि बढाइने भएको छ भने बाँकी ९ जनालाई पनि प्रहरीले पक्राउ गर्ने जनाएको छ । पक्राउ परेका २ जना सहित कलेजका अध्यक्ष खुमाप्रसाद अर्याल, प्रिन्सिपल रवीन्द्र श्रेष्ठ, लेखा प्रमुख युवराज शर्मा, लेखा कर्मचारी हरिमाया पौडेल, प्रशासनिक कर्मचारी दिनेश पौडेल, कर्मचारीहरु तिलक पौडेल, कृष्ण पौडेल र कृष्ण घिमिरेविरुद्ध ठगीको मुद्दा दर्ता भएको छ ।

