पक्राउ परेसँगै काँग्रेस सांसद आलम निलम्बित

नेपाली काँग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताब आलम निलम्बित हुनुभएकाे छ ।

आलमलाई हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले ७ दिनको म्याद थप गरेकाे छ ।

जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता डीएसपी नवीन कार्कीका अनुसार १३ जनालाई जलाएर मारेको आरोपमा पक्राउ परेपछि सांसद आलमलाई अनुसन्धानको लागि अदालतबाट म्याद थप गरिएको हो । 

प्रहरीले आलमलाई हिरासतमा राखेर अनुसन्धान गर्न भन्दै १५ दिन मागेकोमा अदालतले ७ दिनको म्याद थप गरेको प्रहरीले जनाएकाे छ ।

२०६४ साल चैत २७ गते राजपुरमा भएको बमकाण्डका आरोपी सांसद आलमलाई इद्रिसगेटमा समात्नुअघि पक्राउ पुर्जी दिँदा लिन नमान्दा स्थानीय पाँच जनाको साक्षी राखेर प्रहरीले नियन्त्रणमा लिएको हो । 

सांसद आलमलाई आइतवार बिहान करीब ११ बजे इद्रिसगेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । 

आलम पक्राउकाे विराेधमा राैतहटमा समर्थकले नारावाजी र प्रदर्शन गरेकाे बताइएकाे छ ।

Facebook Comments