नेकपाको घरदैलो जारी, नागरिकका अपेक्षा पुरा गर्ने उम्मेदवार भट्टराईको प्रतिवद्धता
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले कास्की २ मा चुनावी घरदैलो कार्यक्रम जारी राखेको छ ।
यसैवीच पोखरा रामबजारबासीले नेकपाप्रति आफूहरुको आशा नटुटेको बताएका छन् ।
चुनावी घरदैलोका क्रममा पोखरा रामबजार पुगेकी विद्या भट्टराईलाई रामबजारबासी जनताले नेकपाप्रति आफूहरुको आशा कायम रहेको बताउँदै भोट दिने बाचा गरेका छन् ।
स्थानीइ समाजसेवी समेत रहनुभएका भूतपूर्व सैनिक लालकाजी गुरुङले भन्नुभयो, ‘हाम्रो आशा र भरोसा भनेकै नेकपा हो, सरकारले राम्रो काम गरेको छ, अझ राम्रो गरोस्, हाम्रो आशा अझै नेकपामै छ ।’
घरदैलोपछि रामबजार मन्दिर परिसरमा आयोजित कोणसभामा बोल्दै नेकपाकी उम्मेद्वार विद्याले भूपू सैनिकको समस्या समाधान गर्ने जिम्मा आफू र आफ्नो पार्टी नेकपाले लिने बताउनुभयो ।
उहाँले भनिन्, ‘हिजो रवीन्द्रजीले तपाईंहरुको समस्या समाधान गर्ने जिम्मा लिनुभयो, अब उहाँले थालेको समस्या समाधानको जिम्मा म र हाम्रो पार्टी नेकपाले लिन्छ ।’ नेतृ विद्याले रवीन्द्रको अभाव पोखरेली जनतालाई हुन नदिने बाचा गर्नुभयो ।
उम्मेद्वार विद्याले जनतालाई निराश हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक गाउँपालिकासँग पोखरा जोड्ने लिंक रोड बनाउनका लागि आफूले नेतृत्व लिने बताइन् । उनले जितेर गाउँ नफर्किने पुरानो प्रचलन तोडेर अब आफू बारम्बार जनताको घरदैलोमा आउने प्रतिबद्धता व्यक्त गरिन् ।
कोणसभामा बोल्दै नेकपाका केन्द्रीय सदस्य चुडामणी जंगलीले ‘समृद्ध पोखरा, सुखी पोखरेली’ बनाउन नेकपाले अभियान चलाइरहेको बताउनुभयो ।
काँंग्रेसले सरकारको बारेमा भ्रम सिर्जना गरिरहेको आरोप लगाउँदै उहाँले विकास र समृद्धीको बाटोमा सरकार रहेको जिकीर गर्नुभयो ।
पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलदेखि मध्यपहाडी लोकमार्ग, सुरुङ मार्ग निर्माण, पेट्रोलियम पदार्थको पाइपलाइन बिस्तारलगायतका कार्यहरु उदाहरण भएको उहाँको भनाई थियो ।
रामबजार भमरकोट पार्टी प्यालेसबाट शुरु भएको नेकपाको चुनावी घरदैलो पेन्सनक्याम्पहुँदै नयागाउँलगायतका क्षेत्रमा भइरहेको छ ।

