थारु र मगर समुदायले माघे संक्रान्ति मनाउँदै
माघी अर्थात् थारु समुदायको नयाँ वर्ष हर्षोल्लासका साथ नेपालका विभिन्न स्थानमा बस्ने थारु समुदायले मनाउँदैछन् । यस पर्वका अवसरमा थारु समुदायले तिल र भुजाको लड्डु, घुँगी, चिचिर, भात, रोटी, बयिया, हाँस र कुखुरा एवं माछाको मासु तयार पारेर महोत्सव अवधिमा थारु समुदायबीच एकापसमा शुभकामना आदानप्रदान गरी मनाउने गर्दछन् ।
थारु समुदायले आफ्नो जातीय भेशभूषासँगै व्यावहारिक जीवनमा प्रयोग गरिँदै आएका विभिन्न सामग्री आदिका झाँकीसहित जातीय पहिरनमा धुमरा नृत्य आदि प्रस्तुत गर्ने गर्दछन् ।
नवलपरासी, दाङ, कैलाली कञ्चनपुर, बाँके, बर्दिया, झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, धनकुटा लगायतका स्थानमा थारु समुदायले विभिन्न कार्यक्रम गरी नयाँ बर्ष मनाइरहेका छन् । थारु समुदायले काठमाण्डौंमा ‘राष्ट्रिय पर्व माघी महोत्सव’का मनाउने गर्दछन् । थारु समुदायले चाबहिलस्थित सानो चुच्चेपाटी मैदानमा यस पटकको थारु राष्ट्रिय माघी महोत्सव मनाउँदैछन् ।
मगर समुदायले काठमाण्डौको टुँडिखेलमा मकर संक्रान्तिका अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । गण्डकी प्रदेशमा मकर संक्रान्तिका अवसरमा सार्वजनिक विदा दिइएको छ । माघ १ अर्थात् मकर संक्रान्ति मगर समुदायको विशेष महत्वपूर्ण चाड हो । मगर समुदायले यस पर्वमा आफन्त भेटघाट, मिठा खानेकुरा खाने तथा शुभकामना आदनप्रदान गरी मनाउने गर्दछन् ।
मगर समुदायमा माघे संक्रान्तिलाई पितृ पुजा गर्ने तथा चेलीबेटीलाई सम्झने गरिन्छ । चेलीबेटीलाई पुज्ने, मिठा खानेकुरा खान दिने प्रचलन रहि आएको छ । पोखरामा भने नेपाल मगर संघका जिल्ला सदस्य नारायण काउछामगरको निधन भएकाले सामुहिक रुपमा कुनै कार्यक्रम नगरिने भएको छ । माघे संक्रान्तिलाई उद्यौली र साउने संक्रान्तिलाई उभौलिका रुपमा मनाउने सञ्चारकर्मी समेत रहनुभएका रुद्र श्रीसमगरले जानकारी दिनुभयो ।

