अख्तियार आयुक्त पाठकद्वारा पदबाट राजीनामा

सत्तारुढ दलका सांसदले नै महाअभियोग प्रस्ताव अगाडि बढाउने तयारी थालेपछि अख्तियार दु?पयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा दिनुभएको छ । पाठकले शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिनुभएको हो । राष्ट्रपति कार्यालय श्रोतले राजीनामा बुझाएको पुष्टी गरेको छ ।

पाठकमाथि संसदले महाअधियोग दर्ता गर्ने तयारी गरिरहेका बेला पाठकको राजीनामा आएको हो । राष्ट्रपतिले राजीनामा स्वीकृत नगरेमा पाठकमाथि महाअभियोगको कारवाही चल्न सक्ने छ । राजीनामा स्वीकृत भएपछि पाठकमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत बाटो खुल्ने छ ।

संवैधानिक पदाधिकारीमाथि अख्तियारले कारवाही चलाउन नपाउने व्यवस्था छ । यद्यपि अख्तियारले संवैधानिक निकायका पूर्वपदाधिकारी माथि भने कारबाही गर्न सक्ने प्रावधान रहेको छ । भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजसम्बन्धी विवादमा ७८ लाख रुपैयाँ घुस बुझेको भिडियो सार्वजनिक भएपछि नेकपाका सांसदहरु पाठकलाई हटाउने निश्कर्षमा पुगेका थिए ।

नेपालखबर अनलाईनले घुस रकम लिएको भिडियो रेकर्ड सार्वजनिक गरेको थियो । शुक्रबार नै महाअभियोग दर्ता गर्ने प्रयोजनका लागि हस्ताक्षर संकलन गर्ने नेकपाका सांसदहरूको तयारी थियो ।

Facebook Comments