प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दावी
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भियतनाम र कम्बोडियाको भ्रमण सफल भएको बताउनुभएको छ । एक साता लामो भ्रमण सकेर स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभूवन विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुसँग कुरा गदै भ्रमण सफल भएको दावी गर्नुभएको हो ।
प्रधानमन्त्रीको ओलीले जारी गर्नुभएको प्रेस विज्ञप्तीमा भियतनामको हनोइमा प्रधानमन्त्री फुकसँग नेपाल र भियतनामबीच परम्परागत रुपमा रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने सहमति भएको छ ।
कूटनीतिक राहदानी र सरकारी राहदानी वाहकहरूलाई भिसा छुट गर्ने, परराष्ट्र मन्त्रालयहरूबीच द्विपक्षीय संयन्त्र स्थापना गर्ने, र नेपाल र भियतनामबीच व्यापार तथा लगानी सम्झौता गर्ने सम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै प्रधानमन्त्रीको कम्बोडियाको औपचारिक भ्रमणका अवसरमा कम्बोडियाका समकक्षी प्रधानमन्त्री हुनसेनसँग प्रतिनिधिमण्डल तहमा द्विपक्षीय वार्ता भएको थियो । भेटका अवसरमा नेपाल र कम्बोडियाबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ सुदृढ र मजबुत बनाउँदै लैजाने सम्बन्धमा महत्वपूर्ण छलफल भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कम्बोडियाका प्रधानमन्त्रीले गत नोभेम्बर २०१८ मा गर्नु भएको नेपालको औपचारिक भ्रमणका अवसरमा हस्ताक्षर भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन एवं यस भ्रमणका अवसरमा हस्ताक्षर भएको व्यापार तथा लगानी सम्बन्धमा सहयोग अभिवृद्धि गर्ने सम्झौतालाई छिटै मूर्त रूप दिने सहमति भएको प्रधानमन्त्रीले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बैशाख २६ गते भियतनाम र कम्बोडियाको भ्रमणमा जानुभएको थियो ।
संसदमा असंसदीय शब्द प्रयोग गरेको छैन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसदमा असंसदीय शब्द प्रयोग नगरेको बताउनुभएको छ । पत्रकाहरुसँगको कुराकानीमा उहाँले सभामुखबाट आफूलाई कुनै असंसदीय शब्द बोलेको र रेकर्डबाट त्यस्ता शब्द हटाउनेबारे कुनै कुरा नभएको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री ओलीका अनुसार बरु संसदमा केही संसदहरुले उत्ताउला, अमर्या्दित र असंसदीय शब्दहरु प्रयोग गरेको र ती शब्दलाई सभामुखले हटाएको हुन सक्ने बताउनुभयो । सभामुखले त्यसैलाई संकेत गर्नु भएको हो–डिलिट गर्ने कुरामा । प्रधानमन्त्री ओलीले संसदको मर्यादा राख्नुपर्ने बताउनुभयो ।
गणतन्त्रात्मक प्रणाली, संस्था लोकतन्त्र हुदाँ लोकतन्त्रका र गणतन्त्रका आधारभुत संस्थाहरु र राष्ट्रका निर्वाचित मर्यादित, राज्यका सर्वोच्च निकायहरु माथि अपमान गर्ने र त्यसलाई बहादुरी ठान्ने प्रवृत्ति देखा परेको प्रधानमन्त्रीको भनाई थियो । उहाँले त्यस्तो प्रवृत्तिले गणतन्त्रमाथि हमला गर्न खोजेको जिकीर समेत गर्नुभयो ।
मिडिया काउन्सिल विधेयक आवश्यक
संसदमा प्रस्तुत मिडिया काउन्सिल विधयक सोचविचार गरेरै ल्याएको प्रधानमन्त्तीको भनाई थियो । विधेयक स्वतन्त्र प्रेसमैत्री भएन भन्ने पत्रकारहरुको जिज्ञासामा प्रधानमन्त्रीले यस्तो जवाफ दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले संसदमा प्रस्तुत विधेयकहरुमाथि छलफल हुने र आवश्यकता भए परिमार्जन गर्न सकिने उहाँकोभ नाई थियो । आवेशजन्य, उत्तेजनाजन्य, च्यातचुत गर्ने गतिविधि संसदका लागि शोभनीय नहुने भन्दै प्रधानमन्त्रीले संसदीय गरिमाका निम्ति बहस गर्नुपर्ने बताउनुभयो ।
सरकारले समाजलाई आधुनिक, विकसित र एउटा सभ्य समाज बनाउन सकियोस्, जहाँ समाचारहरु परिवारको साथ पढ्न वा सुन्न सकियोस् प्रधानमन्त्रीको भनाई थियो । कसैका विरुद्ध मानमर्दन गर्ने गरी, कसैको इज्जतको हुर्मत लिने गरी, अनुचित निराधार खालका त्यस्ता कुराहरु नियन्त्रण हुनुपर्ने प्रधानमन्त्रीको भनाई थियो । प्रधानमन्त्री ओलीले विधेयकमाथि संसदमा छलफल हुने र यथोचित ढंगले पारित हुने बताउनुभयो ।

