सरकार र सिके राउतवीचको सम्झौताले भ्रम सिर्जना : नेता खाँण
नेपाली कांग्रेसका प्रतिनिधिसभामा प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार र सिके राउतबीच भएको सम्झौताको दुवै पक्षले संयुक्त रुपमा व्याख्या गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले मुलुकलाई पृथक गर्ने विषयमा कसैले पनि सम्झौता गर्न नसक्ने जिकीर गर्नुभयो ।
उहाँले सम्झौताका कतिपय शव्दले भ्रमपूर्ण अवस्था सिर्जना गरेको भन्दै स्पष्ट व्याख्या गर्न सरकार र सिके राउत दुवै पक्षलाई आग्रह गर्नुभएको हो । दुवै पक्षबाट सम्झौताका बारेमा समान धारणा आउनुपर्ने खाँणको धारणा थियो ।
सम्झौताको दोस्रो बुँदामा उल्लेख गरिएको जनअभिमत शब्दको व्याख्या सरकार र सिके राउतले पक्षले आ आफ्नै ढंगले गर्दै आएका छन् । राउतले स्वतन्त्र मधेसका लागि जनमतसंग्रह गर्न सरकार तयार भएको बताउनुभएको छ भने सरकारले देशको अखण्डता र सार्वभौमिकताबारे जनमतसंग्रह हुन नसक्ने बताउँदै आएको छ ।
नेता खाँणले संविधानको रक्षा, कार्यान्वयनका साथै असन्तुष्ट दल तथा समूहलाई वार्ता र संवादको माध्यमबाट उनीहरुले उठाएका माग सम्बोधन गर्ने दायित्व पनि सरकारको भएको उल्लेख गर्नुभयो । साथै उहाँले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिंसात्मक गतिविधि त्याग्न आग्रह गर्नुभयो । सरकारले विप्लव नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएर झनै द्वन्द्वरत पक्षलाई आक्रामक गराएको दाबी खाँणको रहेको छ ।

