विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्नुपर्छ देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हिंसाको राजनीति छाडेर वार्तामा आउन आग्रह गर्नुभएको छ । यसअघि विप्लव नेतृत्वको नेकपाले हत्या, हिंसा, चन्दा आतंक बम विस्फोटमा संलग्न भएकाले सरकारले लगाएको प्रतिबन्ध ठीकै भएको बताउनुभएका देउवाले शनिबार पाल्पामा आयोजित पत्रकार सम्मेलनमा भने सो पार्टीलाई वार्तामा आउन आग्रह गर्नुभएको हो ।

प्रेस युनियन पाल्पा शाखाले गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले विप्लव नेतृत्वको नेकपालाई वार्तामा ल्याउन सरकारले पनि पहल गर्नुपर्ने बताउनुभयो । देउवाले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्ने नभई संविधानमा धर्मनिरपेक्षता स्वीकार गरेकाले त्यही अनुरुप हुने बताउनुभयो ।

पत्रकार सम्मेलनमा देउवाले भन्नुभयो, ‘संविधानमा जे व्यवस्था छ त्यसैलाई कांग्रेसले मान्छ ।’ देउवाले कांग्रेस पूर्वसभापति स्व.गिरिजाप्रसाद कोइरालाले नै धर्म निरपेक्षता स्वीकार गरेकाले अहिले आएर कसैले हिन्दु राष्ट्रका पक्षमा बोल्दैमा केही नहुने टिप्पणी गर्नुभयो ।

सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताउनुभयो । सरकारले संसदमा पेश गरेका विधेयकमा प्रेसमाथि अंकुश लगाउने प्रावधान रहेकाले त्यसलाई हटाउनुपर्ने देउवाको भनाई थियो ।

Facebook Comments