पत्रकार गिरीको रिहाईको माग गर्दै काठमाण्डौंमा अनलाइन पत्रकार संघको प्रदर्शन

पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै काठमाण्डौंमा प्रदर्शन गरिएको छ । अनलाइन पत्रकार संघले काठमाण्डौंको माइतीघरमा प्रदर्शन गरेको हो । विद्युतीय अपराधको तरबार नदेखाउ, पत्रकारले लेख्ने हो लेख्न पाउनुपर्छ भन्दै संघले माइतीघरमा प्रदर्शन गरेको हो ।

पत्रकारहरुले ‘पक्राउ परेका पत्रकारलाई तत्काल रिहाई गर, लेख्नपाउन पत्रकारको संवैधानिक अधिकार रक्षा गर, विद्युतीय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट सहितका पदाधिकारी, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।

पत्रकार गिरीलाई यसअघि सोमबार पत्रकार महासंघको रोहवरमा छाडिएपनि मंगलबार पुन नियन्त्रणमा लिइएको हो । काठमाण्डौ जिल्ला अदालतले गिरीलाई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरेको छ ।

सोमबार पत्रकार महासंघको रोहवरमा मंगलबार अदालती प्रक्रियाका लागि हाजिर हुने गरी रिहा गरिएको थियो । यसअघि कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीमा पत्रकारहरुले धर्ना दिएका थिए ।

Facebook Comments