अनलाइन अनुगमन प्रणाली अव्यवहारिक हुने पोखरा उद्योग बाणिज्य संघको ठहर
पोखरा उद्योग बाणिज्य संघले सरकारले लागू गर्न लागेको ढुवानी साधानमा अनलाइन अनुगमन प्रणालीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाल सरकारले साउन १ गतेबाट लागू गर्न लागेको एक स्थानबाट अर्को स्थानमा मालसामान ढुवानी गर्दा अनुगमन गर्ने अनलाइन प्रणाली नेपालको सन्दर्भमा नयाँ भएकाले कार्यान्वयनमा समस्या हुने पोखरा उद्योग बाणिज्य संघको ठहर रहेको छ ।
उद्योगी व्यवसायीलाई यस नियमबारे प्रयाप्त जानकारी नभएको तथा अनलाइन अनुगमन प्रणाली अव्यवहारिक हुने ठहर समेत संघले गरेको छ ।
नयाँ प्रणाली लागू हुनुपूर्व सरोकारवालालाई यथेष्ट जानकारी गराइनुपर्ने भन्दै सूसुचित हुने हकबाट बन्चित गरिएको संघका महासचिव अर्जुन पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै कामदार र कर्मचारीलाई स्थायी लेखा नम्बर नभएमा खर्च जनाउन नपाउने नियम पनि व्यवहारिक नहुने संघले ठहर गरेको छ ।
संघले बैंक खाता मार्फत् तलब भुक्तानी, सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्नुपर्ने तथा १० लाखभन्दा बढीको भुक्तानी चेक मार्फत् गर्ने लगायतका निर्णय तत्कालका लागि स्थगित गर्न माग गरेको छ ।


