प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित थपलियाको सुनुवाई हुँदै
प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित दिनेशकुमार थपलियाको सुनुवाई बुधबार(आज)बाट सुरु हुँदैछ । संसदीय सुनुवाई समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया विरुद्ध परेको ६ वटा उजुरी खुला गर्दै बुधबार दिउँसो २ बजे सुनुवाई गर्ने निर्णय गरेको हो ।
त्यसअघि उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम पनि तय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ५ जनाको सुनुवाई भने बिहिबार गर्ने निर्णय गरेको छ ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरुको सिफारिस प्रक्रिया नै गलत रहेको दावी गर्दै २ वटा र अन्य ३ वटा गरी ५ वटा उजुरी परेको पनि संसदीय सुनुवाई समितिले जनाएको छ । संसदीय सुनुवाई समितिले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलिया र प्रस्तावित न्यायाधीशहरुको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

