गण्डकी प्रदेशमा थप ३६ नमूना कृषि गाउँ बनाइने

गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा सञ्चालन गरेको मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमलाई यस वर्ष थप विस्तार गर्ने भएको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले प्रदेशसभाका एक/एक निर्वाचन क्षेत्रमा गरी ३६ गाउँमा उक्त कार्यक्रम सञ्चालन गरेकाेमा यस वर्ष थप ३६ गाउँमा विस्तार गर्न लागिएको हो ।

कृषिको दिगो विकासका लागि स्थानीय स्रोत साधनको उचित व्यवस्थापनमार्फत उत्पादन, उत्पादकत्व र गुणस्तर अभिवृद्धि गरी समुदायस्तरमा कृषि क्षेत्रको वातावरणीय जोखिम न्यूनीकरण गर्दै ग्रामीण कृषकको आयआर्जन र रोजगारीका अवसरहरु सिर्जना गर्ने लक्ष्यसहित उक्त कार्यक्रम शुरु गरिएको थियो ।

कृर्षि फर्म अनुगमन गर्दै मन्त्री थापा

तनहुँ, नवलपरासी र स्याङ्जामा सञ्चालन गरिएको कार्यक्रम अनुगमन गर्दैै भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले गत वर्षको अनुभबबाट यस वर्ष कार्यक्रम परिस्कृत गरेर विस्तार गरिने जानकारी दिनुभयाे ।

जनतालाई श्रमसँग जोड्न र उत्पादन वृद्धि गर्न कार्यक्रम सफल भएको र आगामी तीन वर्षमा आधारभूत खाद्य उत्पादनमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्यमा कार्यक्रमबाट मद्दत पुग्ने मन्त्री थापाकाे भनाइ छ ।

नमूना गाउँ छनौट भएको गाउँका प्रत्येक घरधुरीबाट एक/एक सदस्य रहने गरी कृषि सहकारी वा समूहका रुपमा कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि सरकारले प्रत्येक गाउँलाई गत वर्ष रु ३० लाख अनुदान दिएको कृषि गाउँ कार्यक्रम व्यवस्थापन एकाइका प्रमुख एवं मन्त्रालयका उपसचिव माधव लम्सालले जानकारी दिनुभयाे ।

लम्सालका अनुसार कृषकलाई गोठ सुधार, प्लाष्टिक घर निर्माण, थोपा सिँचाइलगायतमा अनुदान प्रदान गरिएको र प्रत्येक वर्ष अघिल्लो वर्षको ५० प्रतिशत रकम घटाउँदै लगेर चौथो वर्षमा स्थानीयवासीलाई हस्तान्तरण गरिने योजना छ ।

मध्यविन्दु नगरपालिका–६ बरुबा हर्दिया नवलपुरको सूर्योदय कृषक समूहका अध्यक्ष दुर्गाप्रसाद भुर्तेलले कृषकको रायसल्लाहअनुसार कार्ययोजना निर्माण गरी गाउँलाई नमूना बनाउने प्रयास गरिएकाे छ ।

साे स्थानमा गाईभैँसीको भकारो सुधार, बाख्राको खोर निर्माण, प्लास्टिक घर निर्माण, थोपा सिँचाइ, झोलमल र जीवामृत तयार तथा प्रयोग विधि, गाईभैँसी खरीद तथा सिँचाइ मोटर खरीदलगायत कार्यक्रम सञ्चालन गरिएको छ ।

Facebook Comments