मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने शर्त मान्य छैनः बाँस्काेटा
नेपाल सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गाेकुल बाँस्काेटाले नेत्रविक्रम चन्द(विप्लव)काे नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीसँग वार्ताका लागि हिंसाकाे राजनीति त्याग्नुपर्ने बताउनुभएकाे छ ।
उक्त पार्टी शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित भएपछि मात्र वार्ता गर्ने मन्त्री बाँस्काेटाकाे भनाइ छ । मुद्दा फिर्ता, पक्राउ गरेका नेता कार्यकर्ता रिहा गर्नुपर्ने जस्ता शर्तहरु मानेर सरकारले वार्ता नगर्ने स्पष्ट गर्नुभयाे ।
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भन्नुभयाे, ‘वार्ताका लागि सरकार सदवै तयार छ तर, दाउपेच, शक्ति सञ्चयका लागि वा वैधानिकता प्राप्त गर्न र प्रचार गरेर फाइदा लिने उद्देश्य पुर्तिका लागि वार्ता हुुँदैन ।’
यसअघि माओवादी आन्दाेलन क्रममा वार्ता शक्ति सञ्चयका लागि भएकाे भन्दै बास्कोटाले भन्नुभयाे, हापुरेकाे पुनरावृत्ति हुन नसक्ने बताउनुभयाे ।
मान्छे पहिला छोड्नुपर्ने, मुद्दा फिर्ता लिनुपर्ने, त्यसपछि उहाँहरु वार्तामा नआएमा के हुन्छ मन्त्री बाँस्काेटाले प्रश्न गर्नुभयाे ।
हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउने सुनिश्चित १ मिनेटमै वार्ता सकिने उहाँकाे भनाइ थियाे ।
मन्त्री परिषद् बैठकले गरेका निर्णयहरू
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरुः
१. गैरकानुनी रूपमा नेपाल बसिरहेका पाँच जना श्रीलंकन नागरिकको दुई लाख पचास हजार रूपैयाँ जरिवाना र ३७ हजार तीन सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।
२. नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।
३. तीन सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई तीन अर्व रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ ।
४. प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको कामसमेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।
५. बुटिक विमानस्थल विकास सम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।
६. प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तीमा तीनजना महिलासहित सातजनालाई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।
७. राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।
८. नेपाल नागरिक उड्यन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधा सम्बन्धी (अठारौं संशोधन नियमावली, २०७६) स्वीकृत गरिएको छ ।

