सरकार छाड्ने समाजवादी पार्टीकाे संकेत
समाजवादी पार्टी नेपालले सरकार छाड्ने संकेत गरेकाे छ ।
साे पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले संविधान संशोधनका लागि सरकार तयार नभएकाे भन्दै सरकार छाड्न सक्ने बताउनुभयाे ।
गृहजिल्ला गाेरखामा पत्रकारसँग कुरा गर्दै नेता भट्टराईले संविधान संशोधनकाे एजेण्डा लिएर पार्टी सरकारमा सामेल भए पनि संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओली इच्छुक नदेखिएकाले सरकारमा बसिराख्नुको औचित्य नभएको टिप्पणी गर्नुभयाे ।
आफूहरू सत्ताको साझेदारको रूपमा नभई संविधान संशोधनका लागि दुई तिहाइ पुर्याउन सरकारमा सामेल भएको भट्टराईकाे तर्क छ ।
‘प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्नेलाई छेडखानी गर्नुहुन्छ। यो त दिनदिनै गाइरहने गीत हो भन्नुहुन्छ,’ उहाँले भन्नुभयाे, ‘डेढ वर्ष भइसक्यो अब सरकारमा बसिराख्नुको औचित्य छैन, सरकार छाडेर जनताको बीचमा जान्छौं।’
पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले सरकारबाट बाहिरिने निर्णय औपचारिक रूपमा गर्ने भट्टराईले बताउनुभयाे ।
राजपासँगकाे छलफलमा पनि पार्टी एकीकरणका लागि समाजवादी पार्टीले सरकार छाड्नुपर्ने विषय उठ्ने गरेकाे छ ।

