ऊर्जा क्षेत्रको विकासका लागि लगानीमैत्री नीतिगत सुधार आवश्यक:उपराष्ट्रपति पुन


उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा ऊर्जा क्षेत्रको विकासका लागि लगानीको धेरै समस्या नभए पनि नीतिगतरूपमा केही सुधार तथा समयानुकूल बनाउनुपर्नेमा जोड दिनुभएको छ । आजदेखि काठमाडौँमा सुरु भएको दोस्रो हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्दै उहाँले विगतमा अत्यासलाग्दो विद्युत्भार कटौतीको युग अन्त्य भएर नेपाल नयाँ उज्यालो युगमा प्रवेश गरेको टिप्पणी गर्नुभयो ।

ऊर्जा क्षेत्रको विकास र विस्तारबाट मात्रै औद्योगिककरण सम्भव भएको भन्दै उहाँले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको विस्थापन गर्न पनि विद्युत् नै उपयुक्त साधन भएको बताउनुभयो । विकास निर्माणको काममा बढीभन्दा बढी प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्रै देशको ऊर्जा क्षेत्रमा ठूलो समृद्धि आउने बताउनुभयो । कार्यक्रममा नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै उपराष्ट्रपति पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सम्मान गर्नुभयो ।

Facebook Comments