प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्नु असंवैधानिक : काँग्रेस
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन सिफारिस गर्न सक्ने गरी सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आएको भन्दै आपत्ति जनाएको छ ।
फागुन २९ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता भएको विधेयकको दफा ६ को उपदफा ३ मा ‘गम्भीर राष्ट्रिय संकट उत्पन्न भएमा वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिएमा र तत्काल परिषद्को बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार सिफारिस गर्न सक्नेछ’ भनिएको छ ।
संविधानको धारा २६७ को उपधारा ६ मा सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपतिबाट सेना परिचालनको घोषणा हुने सक्ने प्रष्ट व्यवस्था गरिएकाले प्रधानमन्त्रीको एकल निर्णयले सिफारिसको व्यवस्था संविधान विपरीत हुने काँग्रेसको जिकीर छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संवैधानिक व्यवस्था उल्लघंन हुने गरी प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न मिल्ने गरी विधेयक प्रस्ताव गरिएकोमा आपत्ति जनाउँदै त्यसलाई असंवैधानिकको संज्ञा दिनुभएको छ । परिषद्लाई यसअघि पनि प्रधानमन्त्रीले एकलौटी ढंगले चलाउन खोजेको र शक्ति आफूमा केन्द्रित गरेर अधिनायक बन्ने प्रधानमन्त्रीको आकांक्षालाई विधेयकमा गरिएको यस्तो प्रावधानले थप सहयोग पुग्ने काँग्रेसको ठहर छ ।

