अन्तरिक्षमा नेपालकाे स्याटेलाइट अर्थात् भूउपग्रह प्रक्षेपण
नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नै स्याटेलाइट अर्थात् भूउपग्रह प्रक्षेपण गरेको छ । नेपालको स्याटेलाइट विहीबार विहान २ः ३५ बजे अमेरिकाबाट प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जानकारी दिएको छ ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान नास्टका अनुसार नेपालको भू-उपग्रह नेपाली समय अनुसार बिहीवार बिहान २.३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।
त्यहाँ अमेरिकी हवाई तथा अन्तरिक्ष निकाय नासाको वालोप्स उडान केन्द्र रहेको छ । (नेपालीस्याट(१) नाम दिइएको नेपाली भू-उपग्रहलाई एन्टारेस् नामक वायुयानभित्र रहने सिग्नस् कार्गो विमानमा राखेर प्रक्षेपण गरिएको हो । त्यो केही समयपछि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा पुग्नेछ।
बिहीवार बिहानै त्यो कार्गो विमानले जापान र श्रीलङ्काका भू-उपग्रहलाई पनि अन्तर्रा्ष्ट्रिय अन्तरिक्ष केन्द्रमा र्पुयाउने कार्यक्रम रहेको थियो । बर्डस् -३ स्याटेलाइट प्रक्षेपण कार्यक्रम अनुसार नेपालीसहित तीन देशका भू-उपग्रह अन्तरिक्षमा पठाइएको हो।
न्यानो अर्थात् निकै सानो आकारको नेपाली भू-उपग्रह निर्माणमा संलग्न जापानस्थित नेपाली वैज्ञानिक आभाष मास्केका अनुसार नेपालीस्याट (१ करिब एक किलो तौलको छ । मास्केका अनुसार यो भू-उपग्रह केही समयसम्म अन्तरिक्षको बाहिरी भागमा रहन्छ र त्यसपछि अन्तरिक्षमा घुम्न थाल्नेछ । यो भू-उपग्रहबाट नेपालले रिमोट सेन्सिङ्ग् भनिने प्रविधिको फाइदा लिन सक्छ।
यसको सहयताले नेपालले आफ्नो भूभागको मौसम, पानी, तापक्रम आदि समेटिएका तस्बिरहरू प्राप्त गर्न सक्छ। यो भु-उपग्रह करिव ३ महिनादेखि १ बर्षसम्म सञ्चालन हुने अपेक्षा गरिएको छ । यो भू-उपग्रहलाई सञ्चालन गर्न जमिनमा पनि पूर्वाधार राख्नुपर्ने हुन्छ । त्यसका लागि उपकरण खरिद गर्न नास्टले बोलपत्र आह्वान गरिसकेको छ । बिबिसी नेपाली सेवाबाट

