राइनोजलाई गैडा र एभरेष्टलाई सगरमाथा भन्नुपर्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले राइनोजलाई गैडा र माउन्ट एभरेष्टलाई सगरमाथा भन्न आग्रह गर्नुभएको छ । नेपालको पहिचानका रुपमा रहेकाले गैडा र सगरमाथा नै वास्तविक नाम हुने प्रधानमन्त्रीको तर्क छ ।
एशिया प्रशान्त क्षेत्रको नागरिक हवाइ नियामक क्षेत्रका महानिर्देशकहरुको ५६ औं सम्मेलनको आज उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभयो ।
विश्वकै आकर्षक मध्येको एकसिंगे गैंडा नेपालमा मात्र पाइने भएकाले यसको अंग्रेजी नाम हुन नसक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्मरण गराउनुभयो, “यो राइनो हैन गैंडा हो गैंडा” प्रधानमन्त्री ओलीले भन्नुभयो “यसको मौलिक नाम नबिगारौं । यो राइनो होइन ।” नेपालमा विश्वको अग्लो हिमाल सगरमाथा मात्र होइन विश्वका अग्ला हिमाल मध्ये धेरै वटा नेपालमै रहेको बताउनुभएको छ ।

नेपाललाई विश्व मै सुन्दर देश भनिने गरकोे तर यसले मात्र नेपालको परिचय अपुरो हुने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाल सुन्दर मात्र होइन,प्राकृतिक स्रोतले पनि भरिपूर्ण देश हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यिनै स्रोतको उपयोग गरेर नेपालको विकासलाई तिव्रगतिमा अघि बढाउनु पर्दछ ।”
उहाँले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै नेपालको राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्नुभयो ।
राजनीतिक स्थायित्व आर्थिक उन्नती र विकासको युग सुरु भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल भौगोलिक रुपमा मात्र नभई अन्य क्षेत्रमा पनि विविधता रहेको उल्लेख गर्नुभयो ।

