कास्की उपनिर्वाचनः कास्की कांग्रेसको तेस्रो चरणका कार्यक्रम सार्वजनिक

नेपाली कांग्रेस कास्कीले चुनाव प्रचार अभियान अन्तर्गत तेस्रो चरणका कार्यक्रमहरू सार्वजनिक गरेको छ ।

उम्मेदवारसहित हुने तेस्रो चरणका कार्यक्रम ५ दिनको हुने कांग्रेसले जनाएको छ । कार्यक्रम १२ गतेसम्म जारी रहने कास्की कांग्रेसले जनाएको छ ।

कार्यक्रम अन्तर्गत मंसिर ६ गते पोखरा–४ र ९ मा घरदैलो, ७ गते पोखरा–१६ मैदानमा चुनावीसभा, पोखरा–१५ मा घरदैलो, ९ गते पोखरा–११, १७ मा घरदैलो कार्यक्रम हुनेछ ।

यसैगरी मंसिर १० गते पोखरा–८ र पोखरा–२० मा घरदैलो, ११ गते पोखरा–२१ र ३३ मा घरदैलो कार्यक्रम हुने कास्की कांग्रेसले जनाएको छ ।

यसैगरी कांग्रेसको चुनावी सभाको कार्यतालिका समेत सार्वजनिक भएको छ ।

जस अनुसार मंसिर ६ गते पोखरा–९, बसपार्क, पोखरा–४ रामकृष्णटोल, मंसिर ७ गते पोखरा–१५ मा चुनावी सभा गर्ने कास्की कांग्रेसका सभापति एवं चुनाव प्रचार समितिका संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।

यस्तै मंसिर ७ गते बिहान ८ बजे पोखरा–१६ मैदानमा चुनावीसभा हुनेछ । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री सशांक कोइराला लगायतका नेताहरू सहभागी हुने कास्की कांग्रेसका सभापति केसीले जानकारी दिनुभयो ।

उनका अनुसार मंसिर ६ गते नै नेपाल तरुण दल कास्की क्षेत्र नं. २ ले मंसिर ६ गते चुनावीसभा आयोजना गर्ने भएको छ । पोखरा–७ स्थित राष्ट्रबैंकचोक रत्नचोकको बीचमा सडक डिभिजन कार्यालय अगाडि कार्यक्रम हुनेछ ।

सभालाई कांग्रेस नेताहरू गगन थापा, बालकृष्ण खाँड, डा. मिनेन्द्र रिजाल, तरुण दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उदय समशेर राणा, विद्वान गुरुङ लगायतले संवोधन गर्ने कार्यक्रम तय भएको छ ।

यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा पनि पोखरा आउने कार्यक्रम छ । उनी मंसिर ९ गते पोखरा–११, रानीपौवा, पोखरा–१७ विरौटा, मंसिर १० गते पोखरा–८, पोखरा–२०, भलाम, पोखरा–२१ निर्मलपोखरीको चुनावीसभामा सहभागी हुने कार्यक्रम छ ।

यस्तै, नेता शर्मा मंसिर ११ गते पोखरा–२१ को कृस्ति र पोखरा–३३ को कालिकास्थानमा हुने चुनावीसभामा समेत सहभागी कास्की कांग्रेसले जनाएको छ ।

कम्वल वितरण गरेकोमा आपत्ति, निर्वाचन आयोगमा उजुरी
नेपाली कांग्रेस कास्कीले कास्की क्षेत्र नं. २ अन्तर्गत पोखरा–१५, पट्नेरी वस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त वडाका वडाध्यक्ष प्रकाश पौडेलले पट्नेरीका १२ जनतालाई कम्बल वितरण गरेको काँग्रेसले जनाएको छ ।

वडाध्यक्ष पौडेलको यो कार्य निर्वाचन आचारसंहिता २०७२ को दफा ३ को उपदफा १ (ख) विरुद्ध हुने कास्की कांग्रेसले प्रेस विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

उपनिर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस कास्कीले स्वयंसेवक परिचालन समिति गठन गरेको छ । कांग्रेस नेता सिकन्दरकुमार गुरुङ ‘भोजे’को संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

यसैगरी समितिले ३ सय ४१ सदस्यीय स्वयंसेवक परिचालन उपसमिति समेत गठन गरेको काँग्रेसले जनाएको छ । समितिले स्वयंसेवक परिचालन गरि कास्की २ को उपनिर्वाचनमा उम्मेदवार खेमराज पौडेललाई विजयी गराउने बताएको छ ।

सधैं नेपाली कांग्रेसको राजनीतिमा निष्ठावान नेता खेमराज पौडेललाई जिताउन स्वयंसेवक परिचालन समितिले उल्लेख्य भूमिका खेल्ने संयोजक सिकन्दरकुमार गुरुङ भोजेले बताए ।

कास्की कांग्रेसको चुनाव प्रचार अभियान ११ वटै वडामा जारी छ । सबै वडामा घरदैलो र मतदाता भेटघाट कार्यक्रम अन्तिम चरणमा पुगेको पार्टी सभापति कृष्ण केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पोखरा–३३ मा घरदैलो सकेर उम्मेदवार पौडलसहितको टोली पोखरा फर्किएर पोखराका विभिन्न वडामा घरदैलो गरिरहेका छन् ।

Facebook Comments