घाचोकमा फोनिजको राष्ट्रिय भेला हुँदै

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)को राष्ट्रिय भेला सोमबारदेखि शुरु हुँदैछ । आज र भोली गते कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं. १ घाचोकमा भेला हुन लागेको हो ।

भेलाका लागि माछापुच्छ्रे गाउपालिका, माछापुच्छ्रे सामुदायिक अर्गानिक होम स्टे घाचोक, देवी प्रसाद मैत्रेय बुद्ध शान्ति गुम्बा लगायत स्थानिय संघ संस्था र पृथ्वीराजमार्ग बस सञ्चालक समिति लगायतको सहयोग रहेको छ भने भेलामा सहभागी हुनका लागि पुर्व मेचीदेखि पश्चिम महाकालीबाट आदिवासी पत्रकारहरु पोखरा पुगिसकेका छन् ।

मंगलवार अर्थात फागुन ७ गते अपरान्ह ३ बजे पोखरा सभागृहबाट राष्ट्रिय भेलाका लागि घाचोक प्रस्थान गर्ने कार्यक्रम रहेको फोनिज कास्कीका अध्यक्ष एम बी आस्था मगरले जानकारी दिनुभयो ।

प्रदेश नं.४ का मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुहुने भेलामा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का संघीय समिति, विभिन्न विभागिय समितिहरु, आवद्ध जातिय प्रत्रकार सगठनहरु, प्रदेश समिति, जिल्ला शाखा अध्यक्षहरु गरी करिब एक सय जना सहभागीता हुने आयोजक समितिले जनाएको छ । भेलाको औपचारिक उद्घाटन बुधवार अर्थात फागुन ८ गते विहान मुख्यमन्त्री गुरुङले गर्नुहुने भएको छ ।

माछापुच्छ्रे गाउपालिका एवं घाचोक गाउको प्रचार प्रसार, समृद्धिका लागि मंगलवार नै माछापुच्छ्रे गाउपालिकाको समृद्धि, सञ्चार माध्यम र आदिवासी जनजाति विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको प्रदेश इञ्चार्ज हुमबहादुर तमुले जानकारी दिनुभयो। गाउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङको प्रमुख आतिथ्यतामा हुने अन्तरक्रिया कार्यक्रम मार्फत माछापुच्छ्रे एवम घाचोकको प्रचार प्रसार, विकास र समृद्धिका लागि योगदान पुग्ने अपेक्षा गरिएको छ ।

आदिवासी जनजाति पत्रकारहरुको कार्यक्रम आदिवासी जनजाति कै बस्तीमा समुदायसँगै गरिदा अत्यन्तै सान्दर्भिक र आवाश्यकता पनि भएकाले शहरमा होइन आदिवासी जनजाति बस्तीमा नै गर्ने अभियान अन्र्तगत गुरुङ, मगर र शिल्पी समुदायको बसोवास रहेको पोखराबाट करिब १४ किमी उत्तरमा रहेको पर्यटकीय घाचोक गाँउमा राष्ट्रिय भेला गरिने भएको हो ।

फागुन ९ र १० गते पोखरामा हुने नेपाल पत्रकार महासंघको विधान सम्मेलनमा फोनिजको अवधारणा प्रस्तुत गर्न ७ र ८ गते घाचोकमा हुने फोनिजको राष्ट्रिय भेलामा विशेष छलफल हुने प्रदेश इञ्चार्ज तमुले जानकारी दिनुभयो । भेलालाई व्यवस्थित र प्रभावकारी बनाउन शनिवार फोनिज कास्कीको बैठकले अध्यक्ष एम बी आस्थाको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरी क्रियाशील छ ।

यस अघि गत पुस २७ र २८ गते तनहुँको भिमाद नगरपालिका वडा नं.५ स्थित मिछुर्लुङ होम स्टेमा फोनिजको प्रथम प्रादेशिक भेला र संघीय समितिको बैठक सम्पन्न गरिएको थियो। त्यस पश्चात मिछुर्लुङ होम स्टेमा घरबासका लागि पाहुनाहरु आउने क्रम बृद्धि भएको होम स्टे व्यवस्थापन समितिले जानकारी दिएको छ ।

Facebook Comments