प्रहरीद्वारा सवारी चालकको स्वास्थ्य परिक्षण

सँधै चालकको लाइसेन्स र बिलवुक मात्र चेक गर्ने प्रहरीले अब चालकको स्वास्थ्य पनि चेक जाँच गर्ने भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले पोखरामा सवारीको चालकको स्वास्थ्य जाँच गर्ने कार्यक्रमको सुरुवात गरेको हो ।

चालकको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, चालकले कति प्रेसरमा सवारी चलाएको छ र उसको आँखाको अवस्था ठिक छ कि छैन भन्ने उद्देश्यले आयोजित कार्यक्रम हिमालय आँखा अस्पताल र पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको प्राविधिक सहयोगमा भएको हो ।

प्रहरी र जनताबीच साझेदारी कार्यक्रम अन्तर्गत आइतबार पोखराको छोरेपाटनमा भएको कार्यक्रममा ७६ जनाको स्वास्थ्य जाँच गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक केशव रेग्मीले जानकारीले दिनुभयो ।

रेग्मीका अनुसार १ जनाको मोतियाविन्दु भएको कारणले सवारी चलाउन नसक्ने भनेर चिकित्सकले भनेका छन् भने २ जनाको आँखामा कमजोरी देखिएको थियो । त्यसैगरि उपचार गराउन पर्ने ८ जनालाई हिमालय आँखा अस्पतालमा उपचारको लागि रिफर गरिएको छ ।

यसअघि उक्त कार्यक्रम शुक्रबार डाँडाकोनाकमा र शनिबार जिल्ला प्रशासन कार्यालय अगाडी सरकारी सवारी चालकहरुको लागि आयोजना गरिएको थियो । कार्यक्रमलाई निरन्तरता दिइने ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Facebook Comments