पोखरा महानगरपालिकाले घर नक्साको विद्युतीय अभिलेख राख्ने

पोखरा महानगरपालिकाले घर नक्सा पासका पुराना कागजातलाई विद्युतीय अभिलेखीकरण सुुरु गरेको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालयमा अभिलेखीकरणको सोमबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभयो ।

अभिलेखीकरणको शुभारम्भ गर्दै महानगर प्रमुख जिसीले प्रविधिमैत्री सेवाले भ्रष्टचार न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सेवाग्राहीका सबै काम प्रविधि र अनलाइन मार्फत् भए कर्मचारीले सेवाग्राहीबाट लाभका कुरा गर्न नपाउने र त्यसले भ्रष्टचारलाई कम गर्ने उल्लेख गर्नुभयो । ‘सबै कामहरु सेवाग्राही र कर्मचारी बीचमुखामुख हुनै नपर्ने गरी व्यवस्थित गर्न आवश्यक छ,’ प्रमुख जिसीले भन्नुभयो, ‘ यसो गर्न सके रकमको बार्गेनिङ समेत हुँदैन ।’

उहाँले नक्सा शाखामा नक्सा पासका किताबका अभिलेख अव्यस्थित हुँदा मुसाले खाने, सेवाग्राहीले चाहेको बेलामा प्रतिलिपि नपाउने जस्ता समस्याको न्यूनीकरणमा विद्युतीय अभिलेखीकरणले मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले अभिलेखीकरणले महानगरको कार्यालयलाई पेपरलेस बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो । पौडेलले अनलाइन नक्सापास वडाबाटै सुरु गरेको महानगरले कर तथा राजश्वलाई समेत घरनक्सापाससँग जोडेर शुल्क निर्धारण गर्ने व्यवस्था मिलाउने कार्यलाई अघि बढाउने बताउनुभयो ।

महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले २०७३ अघिका झण्डै ६० हजार घर नक्सापासका किताबलाई विद्युतीय अभिलेखीकरण मार्फत व्यवस्थित गरिने जानकारी दिनुभयो । महानगरपालिकाका वरिष्ठ इन्जिनियर पूर्णबहादुर गुरुङले एक हजार वर्ग फिट सम्मका घरहरुको नक्सापास वडाका प्राविधिकले गर्न सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको बताउँदै, योजनाका सम्झौतालाई समेत विद्युतीय अभिलेख गर्ने गरी अगाडि बढाइने जानकारी दिनुभयो । वडा नं. २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले विद्युतीय अभिलेखीकरणले सुशासनमा सहयोग पुग्ने बताउनुभयो ।

काठमाडौंको टेक्नोलोजी सेल्स कम्पनीले महानगरका घर नक्सा पासका अभिलेखलाई व्यवस्थापन गर्नेछ । पहिलो चरणमा साविक लेखनाथका पाँच हजार दुईसय र महानगरका गरी दश हजार घर नक्सापास किताबलाई विद्युतीय अभिलेखीकरण गरिने आइटी इन्जिनियर अशोक द्वारेले जानकारी दिनुभयो ।

सफ्टवेयर मार्फत योजनाका सम्झौता, राजश्व, प्रशासन लगायतका महत्वपूर्ण कागजातलाई पनि विद्युतीय अभिलेखीकरण गर्न मिल्ने बताइएको छ । सेल्स टेक्नोलोजीका प्रबन्ध निर्देशक राम रिमालले प्रविधिको प्रयोगले पेपर क्लिन महानगर बनाउन सहयोग पुग्ने बताउनुभयो ।

Facebook Comments