कास्कीको मादीमा बर्डफ्लु भेटिएका कुखुरा नष्ट, एक हप्ता पंक्षी ओसारपोसारमा रोक
कास्की जिल्लाको मादी गाउँ पालिका वडा नम्बर ३ याङ्जाकोटमा बर्डफ्लु भेटिएका कुखुरालाई मारिएको छ । मादी गाउँपालिका वडा नम्बर ३ याङ्जाकोटकी सन्तु परियारले पालेको गिरिराज र स्थानीय जातका कुखुरामा समेत बर्ड फ्लु भेटिएपछि जिल्ला बर्डफ्लु रोग नियन्त्रण कक्ष कास्कीले त्यस वरपरका कुखुरा मारेको जनाएको छ ।
बर्डफ्लु भेटिएको मादी ३ याङ्जाकोटकी परियारको घर क्षेत्रका ७७ वटा कुखुरा मारेको बर्डफ्लु रोग नियन्त्रण कक्ष कास्कीका ईञ्चार्ज डा.केदारराज पाण्डेले जानकारी दिनुभयो । उक्त क्षेत्रमा भएको दाना समेत नष्ट गरिएको छ भने संक्रमित क्षेत्रबाट पन्छी तथा पन्छीजन्य वस्तुहरु चैत १४ गतेसम्म ओसारपसारमा प्रतिबन्ध लगाइएको छ ।

परियारले पालेको गिरीराज र स्थानीय जातका कुखुराहरु विरामी हुने र मर्ने समस्या आएपछि परीक्षणका लागि पोखरा ल्याइएको र पोखरामा सम्भव नभएपछि नमूना परिक्षण गर्न काठमाडौं पठाइएको थियो ।
काठमाडौंमा गरिएको परिक्षणमा कुखुरामा बर्ड फ्लु भेटिएको पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार ती कुखुरामा एच फाइभ एन वान लागेको प्रमाणित भएको थियो । यसवीच कास्कीका व्यवसायीहरुले कास्की बाहिरबाट एक हप्ता कुखुरा कास्कीमा नभित्राउने जनाएका छन् ।

