विप्लव नेतृत्वको नेकपाका सर्लाही इञ्चार्जको दाेहाेराे भिडन्तमा मृत्यु

सर्लाहीमा प्रहरीसँगको भीडन्तमा गोली लागेर नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ताको मृत्यु भएको छ । सर्लाहीको लालबन्दीमा प्रहरीसँगको दोहोरो भिडन्तमा विप्लव समूहको जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लालबन्दीमा बिहीबार प्रहरी र नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताबीच गोली हानाहान भएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार लालबन्दी नगरपालिका वडा नंं १ को लखनदेवी खोलाछेउमा प्रहरी र विप्लव समूका कार्यकर्तावीच दोहोरो गोली हानाहान भएको हो।

दुई वटा मोटरसाइकलमा रहेका चार जना विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको प्रहरीले उल्लेख गरेको छ ।

अन्दाजी ४५ वर्षीय पौडेलको घटनास्थलमै मृत्यु भएको पनि प्रहरीले जनाएको छ । प्रहरीले एक थान सिक्सर रिभल्वर, थ्रीनट थ्री राइफलका गोली र कटुवा पेस्तोल बरामद भएको गरेको छ ।

Facebook Comments