पाल्पाको रानीमहल पनि व्यक्तिका नाममा दर्ता

पाल्पामा रहेको रानीमहलको सरकारी जग्गा मोहीका नाममा दर्ता गराएको पाइएको छ । पाल्पाको कालीगण्डकी किनारस्थित ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीमहलको नाममा पाल्पा खानीगाउँ गाविस–२ रहेको कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई व्यक्तिका नाममा दर्ता गरिएको हो ।

उक्त जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोही खडा गरी व्यक्तिका नाममा दर्ता गराएको पाइएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको अध्ययनबाट खुल्न आएको हो ।

कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको केन्द्रले जनाएको छ ।

मालपोत कार्यालयमा २०६० मङ्सिर १६ गते कित्ता नं १६६ बाट कित्ता नं ६६० र ६६१ काटिएको छ तर १६६ नम्बरको उक्त कित्ता जग्गा नापी विभाग, कित्ता नापी महाशाखाको अभिलेखमा भने यथावत नै रहेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा ती दुई कित्तामध्ये ६६० नम्बरको कित्ता खङ्गेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा मालपोत कार्यालयमा श्रेस्ता कायम गरिएको छ भने कित्ता नं ६६१ नापी कार्यालयमा नक्साङ्कन गरिए पनि श्रेस्ता भने कायम गरिएको पाइएको छ ।

६६० नम्बरको कित्ताका मोही श्रेष्ठबाट पनि २०७२ साल असोज ५ गते मोही सारी अर्कैको नाममा बनाइएको छ ।

उहाँको नामबाट उक्त कित्ता नजरमान श्रेष्ठ, तारामान श्रेष्ठ, नीलम श्रेष्ठको नाममा नामसारी भएको मालपोत कार्यालयमा देखिन आएको गोरखापत्र दैनिकको समाचार मा उल्लेख छ ।

यसैगरी साविक बौद्धगुम्बा गाविस–२ मा रहेको १२ रोपनी ९ आना २ पैसा क्षेत्रफलको सरकारी जग्गा कित्ता नं ४६७ पनि रानीघाट गुठी बनाई मोही थानबहादुर श्रेष्ठको नाम दर्ता गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी रानीमहलकै फूलबारी भनी छुट्टाइएको कित्ता नं ४६६ पनि कित्ताकाँट गरिएको पाइएको छ । १७ रोपनी १३ आना एक पैसा क्षेत्रफल रहेको उक्त जग्गा २०६२ माघ १८ गते नापी विभागमा शङ्कास्पद रुपमा पेन्सिललाइन कित्ताकाँट भएको देखिन आएको प्रतिवेदनमा जनाइएको छ ।

केन्द्रले रानीमहलको सरकारी जग्गा व्यक्तिका नाममा बनाएकामा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको केन्द्रका सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो ।

गोरखापत्र दैनिकबाट

Facebook Comments