होली पर्व मुलकको पहाडी क्षेत्रमा मनाईंदै
आज फाल्गुण शुक्ल पूर्णिमा अर्थात् होली । नेपालका पहाडी क्षेत्रमा बुधबार धुमधामका साथ यो पर्व मनाइदैछ । आफन्त, साथीभाइ र मन मिलेकाहरुबीच अबिर र रंग दलेर आज फागुु पर्व मनाउने गरिन्छ । युवाहरु समूह बनाएर एक आपसमा रंग लगाएर हर्षेाल्लासका साथै यो पर्व मनाइरहेका छन् ।

छोरा प्रह्लाद विष्णुभक्त भएको आक्रोशमा हिरण्यकश्यपुले आफ्नै बहिनी होलिकाको काखमा प्रह्लादलाई सुताएर आगोमा दहन गर्न खोजेको तर प्रह्लाद सकुशल रहेर होलिकाको मृत्यु भएको भन्ने किंवदन्तीसँग होली पर्व जोडिएको छ ।

पौराणिक कालदेखि नै यो पर्व मनाइँदै आएको शास्त्रमा वर्णन गरिएको छ । तराई क्षेत्रमा भने भोली मात्रै होली मनाइन्छ । काठमाडौँको हनुमानढोका दरवारस्थित मोहनकालीचोकमा भगवान् कृष्णको मूर्तिका साथमा वरिपरि अर्धनग्न अवस्थाका नौ गोपिनीको मूर्ति स्थापना गरेर वसन्तपुर दरवार परिसरमा रङ्गीचङ्गी कपडाको चीर ठड्याएपछि यो पर्व सुरु हुन्छ ।

पशुपतिनाथका कोटवाल पूर्णनारायण जोशीका अनुसार आज पशुपति आउन नभ्याउनेले हिजै पशुपतिनाथमा फुका अबिर अर्पण गरेका छन् । रानीपोखरीस्थित सोह्रहाते गणेशलाई पनि अबिरपानीको लोला प्रहार गर्दै अबिर चढाइएको छ ।

