समृद्धिको मार्गमा सँगै अघि बढौं : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गर्नुभएको छ । फागु पूर्णिमाका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले नेपाल आर्थिक सामाजिक रुपान्तरणमा द्रुत रुपमा अघि बढेको उल्लेख गर्नुभएको छ । “देशलाई द्रूत गतिमा आर्थिक सामाजिक रुपान्तरणको दिशामा अग्रसर गराइँदै गरिएको आजको परिप्रेक्ष्यमा हामी सम्पूर्ण नेपाली अझ बढी एकतावद्ध हुन जरुरी छ ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ । प्रधानमन्त्री ओलीले नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ भएको सबैलाई स्मरण गराउनुभएको छ ।
“नेपालभरी र बाहिर पनि खुसीयाली प्रकट गर्दै होली अर्थात् पानी र रंग खेलेर मनाइने यस पर्वका अवसरमा म फेरी एक पटक हाम्रो राष्ट्रिय संकल्प समृद्ध नेपाल, सुखी नेपालीको स्मरण गर्न चाहन्छु” प्रधानमन्त्री ओलीको सन्देशमा भनिएको छ । भाषिक, सांस्कृतिक र जातीय विविधतामा एकता सारा विश्वले थाहा पाएको नेपाली विशेषता भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

