नेकपाकाे बैठकमा कुनै निर्णय भएन, विहीबार पुनः बस्ने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक विहीबार बस्नेगरी सकिएको छ । आज बुधबार बसेको बैठकमा एजेण्डाहरु प्रस्तुत भएकाे र भोलि बिहान ८ बजे पुनः बैठक बस्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।
विहीबारकाे बैठकमा पार्टी एकताका बाँकी विषयमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयाे ।
सचिवालय बैठक बस्नुअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको थियो ।
नेकपामा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले फरक मत दर्ता गराउनुभएकाे छ । साे विषयमा समेत विहीबार नै छलफल हुने बताइएकाे छ ।
पार्टी एकताका बाँकी काम टुंगो लगाउने, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, प्रधानमन्त्रीको स्वास्थ्य उपचारका लागि विहीबारदेखि हुने सिंगापुर भ्रमण लगायतका विषय बैठकका एजेण्डा रहेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपालको फरक मतका विषयमा समेत छलफल हुने स्रोतले जनाएको छ ।

