कास्की उपनिवार्चनः कांग्रेसको प्रचार तेस्रो चरणमा
कास्कीमा आगामि मंसिर १४ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनमा राजनीतिक पार्टीहरुले चुनाव प्रचार अभियानलाई जारी राखेका छन् ।
नेपाली कांग्रेसको गत कात्तिक २१ गतेदेखि शुरु भएको चुनावी प्रचार अभियान विहीबारबाट तेस्रो चरणमा आइपुगेको छ ।
पार्टी सभापति कृष्ण केसीका अनुसार पहिलो र दोस्रो चरणमा अधिकांश मतदातासंगको भेटघाट सकिएको छ ।
पहिलो चरणमा पार्टीका विभिन्न संघसंगठनमा चुनाव प्रचार समिति गठन गरेको कांग्रेसले दोस्रो चरणमा घरदैलोमार्फत मतदाता भेटघाट र कोणसभामा केन्द्रित गरेको थियो ।
भोलि शुक्रबारदेखि शुरु हुने तेस्रो चरणको कार्यक्रम चुनावीसभामा केन्द्रित हुने सभापति केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चुनावीसभा मार्फत जनताका समस्या, वर्तमान राजनीतिक परिवेशबारे पार्टीको धारणा प्रस्तुत गर्ने र प्रतिवद्धता जनाउने काम हुनेछ ।
यस कार्यक्रममा जनता र पार्टीका उच्च तहका नेता सहभागी गराएर उम्मेदवारले आफ्नो प्रतिवद्धता पेश गर्नेछन् ।
काँग्रेसका नेताहरुले चुनावी माहोल काँग्रेसको पक्षमा आएको बताएका छन् । नेता यज्ञबहादुर थापाका अनुसार यो पटक कांग्रेसको पक्षमा राम्रो माहोल बनेको छ ।
पार्टीका पूर्व सभापति र पूर्व मन्त्रीसमेत रहेका थापाले पार्टीको पक्षमा यति राम्रो माहोल इतिहासमै नभएको बताउनुभयो ।
पोखरा–४ को घरदैलोमा सहभागी नेता थापाले सरकारप्रति जनता रुष्ट भएको आफूले पाएको बताउनुभयो ।
त्यस्तै गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले आफूले नै गरेका प्रतिवद्धता पूरा गर्न सकिन्न कि भन्ने डर मनमा रहिरहेको बताउनुभयो ।
‘हामीले पनि जनतालाई विकासको आशा देखाएका थियौं, तर राज्य सञ्चालनको साँचो अर्कैको हातमा गयो । त्यसैले समस्या भएको छ’, सांसद थापाले भन्नुभयोे, ‘तर पनि जनताका समस्यामा नजिक रहेर काम गर्ने प्रयत्न भने गरिरहेका छौं ।’
पोखरा–२० का चुनाव कमाण्डर समेत रहनुभएका सांसद थापाले जनता सामु गरिएका आफ्ना प्रतिवद्धता पूरा गर्ने बताउनुभयो ।

