जनविश्वास माथि कुठाराघात गर्दैनौ: उम्मेदवार केसी

साझा पार्टीले पोखरा–१५ मा उपनिर्वाचन लक्षित घरदैलो कार्यक्रम गरेको छ ।

कास्की निर्वाचन क्षेत्र नं–२ मा हुने उपनिर्वाचनका लागि मतदाता भेट्न पार्टीका केन्द्रिय संयोजक रवीन्द्र मिश्र, पार्टीका तर्फबाट उम्मेदवारी दिएकी रजनी केसीसहितको टोली बुधबार सो वडामा पुगेको हो ।

मतदाता भेटघाट पछि पार्टीले बुधबार साँझ वडा नम्बर १५ को ट्याक्सी चोक र शिव मन्दिर चोकमा साझा चुनावी कोणसभा आयोजना गरेको थियो ।

ट्याक्सी चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार केसीले जनताले आफू र पार्टीप्रति गरेको विश्वास माथि कहिल्यै कुठाराघात नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले जनता साझा पार्टीप्रति सकरात्मक रहेको अनुभव सुनाइन् । ‘घरदैलो कार्यक्रम लिएर कास्की–२ को विभिन्न वडामा पुग्दा मतदाताले निकै उत्साह थप्नुभएको छ, अब साझा पार्टी नै कम्युनिष्ट र कांग्रेसको विकल्प बनेर आयो भन्दा खुसी लाग्छ,’ उहाँले भन्नुभयो ।

यस्तै सभालाई सम्बोधन गर्दै केन्द्रिय संयोजक रवीन्द्र मिश्रले पुराना दलका कारण असल राजनीतिज्ञले देश विकास गर्लान भन्ने विश्वास ध्वस्त भएको आरोप लगाउनुभयो ।

‘गएको ३० वर्षदेखि चुनाव जितेर गएकाहरुले आफू र आफ्नो परिवार बनाए, जनतालाई जहाँको त्यहीँ छाडे,’ संयोजक मिश्रले भन्नुभयोे, ‘त्यसले गर्दा देशमा असल राजनीतिज्ञ छन् र देश परिवर्तन गर्लान भन्ने जनतामा विश्वास छैन् ।’

साझा पार्टीले बिहिबार पोखरा–१७ मा घरदैलो कार्यक्रम गरिरहेको छ ।

Facebook Comments