समुदाय–प्रहरी साझेदारी कार्यक्रम सकारात्मक

प्रहरी प्रधान कार्यालयले देशभर लागु गरेको समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यक्रमले समाजमा सकारात्मक भूमिका निर्वाह गरिरहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । कार्यक्रमसँगै क्रियाशील सामुदायिक सेवा केन्द्रहरुलाई समेट्नुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।

समुदायमा आधारित यस्तो कार्यक्रमहरु संचालन गर्दा जनशक्ति बढाउनुपर्नेमा उनीहरुको जोड रहेको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा सदस्यहरुबीच जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार आयोजना गरेको कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानामगरले समुदाय–प्रहरी साझेदारी कार्यक्रमसँगै सामुदायिक सेवा केन्द्रहरुलाई लिएर अघि बढ्ने बताउनुभयो । सामुदायिक केन्द्रहरुले गर्ने हरेक कार्यक्रमहरु साझेदारी कार्यक्रम अन्तरगत हुने प्रहरी उपरीक्षक रानाको भनाई थियो ।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र जिल्ला समन्वय समितिका बरिष्ठ उपाध्यक्ष बोधराज कार्की, महासचिव उत्तम जोशी, निवर्तमान अध्यक्ष बिष्णु भट्टराई, सामुदायिक सेवा केन्द्र बगरकी पूर्व अध्यक्ष सीता गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, सेवा केन्द्र बैदामकी अध्यक्ष मिना भट्टराई, सेवा केन्द्र माटोपानीका अध्यक्ष कृष्णप्रसाद आचार्य, सेवा केन्द्र लेखनाथका अध्यक्ष रमेश ओझा, सेवा केन्द्र कालिकाका हुमनाथ अधिकारी, सामुदायिक सेवा केन्द्र बगरका सदस्य मेघनाथ काफ्ले लगायतले बोल्नुभएको थियो ।

Facebook Comments