नेपाल पत्रकार महासंघको विधान अधिवेशन शुरु, सकारात्मक सन्देश प्रवाह गर्न सभामुखको आग्रह
नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन शुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको व्यवस्थापनमा पोखरा सभागृहमा शुरु भएको साधरणसभाको सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नुभएको हो । साधारणसभामा देश भरबाट १ हजार ४ सय केन्द्रीय सभासदहरु कार्यक्रममा सहभागी भएका छन् ।
साधारणसभाले साना र स्वरोजगार मूलक सञ्चारमाध्यमको संरक्षण, केन्द्र, प्रदेश र जिल्ला शाखा समेतको निर्वाचन प्रत्यक्ष गर्ने लगायतका एजेण्डामा छलफल हुने बताइएको छ । प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा सघर्ष गर्ने कार्यक्रमका वक्ताहरुले बताएका थिए ।
साधारणसभामा सभामुख महरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटा, पर्यटनमन्त्री रबिन्द्र अधिकारी, नेकपाका नेता योगेश भट्टराई, नेपाली काँग्रेसका कुमार खड्का, पत्रकार महासंघका पूर्व अध्यक्षहरु शिव गाउँले, डा.महेन्द्र विष्ट, तारानाथ दाहाल, सुरेश आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै सभामुख महराले प्रेस स्वतन्त्रताको रक्षा हुने गरी विधेयक बनाउने बताउनुभयो । पत्रकारिताले समाजमा उत्पे्ररणा जगाउने खालको हुनुपर्ने बताउनुभयो । पत्रकारले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने र सरकारलाई रचनात्मक आलोचना गरेमा सहयोग हुने बताउनुभयो । पोखराको विकासका लागि आन्तरिक पर्यटन बर्ष घोषणाले सकारात्मक भूमिका खेल्ने बताउँदै महराले गण्डकी प्रदेश नै पर्यटनको केन्द्र रहेको उल्लेख गर्नुभयो ।
सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चारमाध्यमलाई संरक्षण गर्ने तथा विज्ञापन नीति बनाउने सरकारको तयारी रहेको बताउनुभयो । मुलुकी संहिता प्रेसलाई आकर्षित नहुने मन्त्री बास्कोटाले स्पष्ट पार्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले आन्तरिक पर्यटन बर्ष २०१९ को घोषणा गर्नुभयो । उहाँले गण्डकी प्रदेश सरकारले पर्यटनलाई मुख्य प्राथमिकता दिएको बताउँदै ३०० होमस्टे बनाउने बताउनुभयो । साधारणसभाको पूर्व सन्ध्यामा सृजनाचोकबाट नौमती बाजागाँजा सहित झाँकी प्रर्दशन गरिएको थियो । कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरिएको छ ।

