नविनत्तम सूचना प्रविधिलाई प्रतिबन्ध होइन, नियमन गर्छौ : सञ्चारमन्त्री
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिको प्रयोगलाई रोक लगाउने नभई नियमन गर्ने बताउनुभएको छ । सरकारले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन खोजेको नभई नियमन गर्न लागेको बताउनुभयो ।
प्रतिनिधिसभामा प्रस्तुत भएको सूचना प्रविधिसम्बन्धी बिधेयक २०७५ लाई गलत ढङ्गले प्रचारप्रसार गरिएको भन्दै मन्त्री बास्कोटाले सूचना प्रविधिको विकासलाई रोक लगाउने उद्देश्यका साथ विधेयक नल्याईएको स्पष्ट पार्नु भएको हो ।
यही फागुन ३ र ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले बढ्दो साइबर क्राईमलाई नियन्त्रण गर्न विश्वमा प्रचलित कानुन समेतलाई ध्यान दिई सामाजिक सञ्जाल लगायतका नविनत्तम प्रविधिलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।
लेख्न बोल्न पाउने नागरिकको कुनै पनि हकलाई बन्देज गराउनका लागि विधेयक नल्याईएको उहाँको भनाइ छ । सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म अनलाइन, पोर्टल, ब्लगलाई सामाजिक हित र मौलिक मान्यता विरुद्ध जानबाट रोक्न सरकारले विधेयक ल्याएको मन्त्री बास्कोटाले उल्लेख गर्नुभयो । राष्ट्रियतासँग जोडिएका विषयमा उजुरी गर्ने स्थानका लागि पनि सामाजिक सञ्जाल तथा युटुब च्यानल सञ्चालकको कार्यालय नेपालमा हुनु आवश्यक रहेको बास्कोटाले बताउनुभयो ।

