कोइरालाको नवौँ स्मृति दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
नेपाली कांग्रेसका नेता एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नवौँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ । पटकपटक नेपालको प्रधानमन्त्री हुनुभएका कोइराला आफ्नो वचनमा पक्का नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।
०६२/६३ को जनआन्दोलनले उत्कर्ष हासिल गरेपछि २०६३ वैशाख ११ गते प्रतिनिधि सभाको पुनर्बहाली भयो र सात राजनीतिक दलका नेताको समर्थनमा कोइराला पुनः प्रधानमन्त्री हुनुभयो । पहिलो संविधानसभाको निर्वाचन गराउनुभएका कोइराला नेपालको पहिलो नागरिक राष्ट्राध्यक्ष हुनुभयो ।
कोइराला प्रधानमन्त्री हुँदा नै संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो । कोइरालाको ८५ वर्षको उमेरमा २०६६ चैत ७ गते शनिबारका दिन मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा निधन भएको थियो । उहाँको स्मृति दिवसमा आज नेपाली कांग्रेसले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

