अपाङ्गताको क्षेत्रमा सोचे अनुसार काम हुन नसकेको गुनासो
अपाङ्गताको क्षेत्रमा सोचे अनुसार काम हुन नसकेको पोखरामा विहिबार भएको एक अन्तरक्रियामा बोल्नेहरुले गुनासो गरेका छन् । अपाङता भएका ब्यक्तिहरुको अधिकार र विकास लागि अन्तरमन्त्रालय तथा सरकोकारवालाहरु विचको अन्तरक्रियामा बोल्ने बक्ताहरुले सो गुनासो गरेका हुन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय सदस्य शिशिर खनालले देश संघीय संरचनामा गएर स्थानिय र प्रदेश सरकार बनेपनि अपाङ्गताको क्षेत्रमा काम हुन नसकेको बताउनु भयो । उहाले अपाङ्गतामैत्री पूर्वाधार बनाउनेतर्फ अझै काम हुन नसकेको बताउँदै भन्नुभयोे, ‘पोखरा महानगरपालिकाबाट त हामीलाई धेरै नै आशा थियो, तर महानगरपालिकाले बनाएको अपाङ्गमैत्री पूर्वाधार बनाउने नीति कागजमा सिमित हुँदा हामीलाई निराश बनाएको छ ।’
कार्यपत्र प्रस्तुत गर्दै दृष्टिविहिन समेत रहनुभएका अधिवक्ता श्रीकान्त सापकोटाले अपाङ्गता भएका व्यक्तिहरुको भौतिक पूर्वाधार, संस्थागत संरचना, श्रोत, साधन, सूचना तथा आवश्यक सेवा सुविधामा सहज पहुँच अmभैपनि पुग्न नसकेको बताउनु भयो । उहाँले अपाङ्गता भएका व्यक्तिहरु अवधारणागत वातावरणजन्य र संस्थागत विभेद र अवरोधको सामना गर्न विवश भएको पनि तथ्य उजागर गर्नुभयो ।
कोपिला नेपालका तीर्थ थापाले मानसिक स्वास्थ्य समस्या भएकाहरुलाई पनि अपाङ्गतामा समेट्नुपर्ने बताउनु भयो उहाले बजेट भएपनि जसका लागि बजेट छुट्याइएको हो, उसैको पहुँच पुग्न नसक्दा बजेटको सदुपयोग हुन नसकेको जनाउनु भयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र ईन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले अपाङता भएकाहरुलाई आर्थिक सशक्तिकरणमा स्थानिय, प्रदेश र संघ सरकारले चासो नदिएको बताउनुभयो । परिवारले पनि अपाङ्गता भएकाहरुलाई बोझको रुपमा लिने गरेको उहाँकाे भनाइ थियाे ।
राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष खुमराज शर्मा सुबेदीले बजेटमा पहुँच पुर्याउन महासंघले पहल गरिरहेको जानकारी दिनुभयो । उहाले अपाङ्गताको क्षेत्रमा बजेट छुट्याउनका लागि पनि महासंघले राज्यलाई झकझक्याईरहेको स्मरण गराउनुभयो ।
लक्ष्मण सुबेदीले अपाङ्गताका लागि छुट्याएको बजेट गोष्ठी र अन्र्तक्रियामा खर्च गरिएपनि प्रत्यक्ष रुपमा अपाङ्गता भएकाहरु लाभान्वित हुन नसकेको गुनासो गर्नुभयो । उहाले ठोस् ठोस् क्षेत्रमा खर्च गरेर अपाङ्गता भएकाहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने वातावरण बनाउनुपर्ने जोड दिनुभो ।
राज्यले अपाङ्गताको क्षेत्रमा करोडौंको बजेट देखाउने तर काम नगर्दा त्यसको कुनै अर्थ नभएको टिप्पणी गर्नुभयोे ।

कार्यक्रममा गण्डकी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठले नीति तथा कार्यक्रम बनाउने बेलैमा योजना लिएर आए बजेटमा अभाव हुन नदिने प्रतिबद्धता जनाउनु भयो । अपाङ्गताको वर्गिकरण राम्रो नभएको भन्दै स्पेसिफिक बनाउन सुझाव दिनु भयो ।
गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका खडानन्द पाण्डेले आगामी दिनमा अपाङ्गमैत्री बजेट बनाउने बाचा गर्नुभयो । सामाजिक विकास मन्त्रलायका तुलसा अर्यालले अपाङताको क्षेत्रमा बजेट विनियोजन गरेको बताउदै सरोकारवालाहरुलाई चासो राख्न आग्रह गर्नुभयो ।
पोखरा महानगरका सामाजिक विकास महासाखा प्रमुख उपसचिव निर्मला शर्माले प्रत्यक महिनाको अन्तिम सोमबार अपाङता परिचय पत्र वितरण हुदै आएको बताउनु भयो । उहाँले हस्तलिखित भन्दा पनि अब डिजिटल कार्ड बनाउने तर्फ तयारी हुदै गरेको पनि बताउनु भयो । कार्यक्रममा राजेन्द्र घिमिरे लगायतले बोल्नुभएको थियो ।

