दलाल पूँजीवाद विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको निशानामा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नरहेको स्पष्ट पारेको छ । आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले सुरक्षा निकायमाथि कार्वाही नगर्ने स्पष्ट पारेको छ ।

बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मध्य केन्द्रीय कमाण्डका संयोजक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारी रहेको उल्लेख गर्नुभएको छ । उहाँले सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पार्नुभएको छ ।
साथै विज्ञप्तिमा आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्ताहरूको रिहाइको माग गरिएको छ । सरकारले गिरफ्तार गरिएलाई तुरुन्त रिहा नगरे कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

विज्ञप्तिमा काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जवाफी कारबाही गरेको गलत प्रचार गरेको आरोप लगाइएको छ ।

‘पछिल्लो घटना काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा संगठन सुदृढिकरण तथा विस्तार अभियनमा रहेका अभियानकर्मी विशाल तामाङ नुमबहादुर विक, शिव धिमाल र दीपेन्द्र राई पक्राउ गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘निहत्था, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकबास गरिएको छ।’

पार्टीमाथि प्रतिबन्धलाइ ‘फासीवाद’को संज्ञा

सरकारले पार्टीमाथि लगाएको प्रतिबन्धको चर्को विरोध गरेको छ । ‘नेपालको उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी शर्मा ओली, पुष्पकमल दाहाल सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासीवादतर्फ पतन हुँदैछ भनी गरेको संश्लेषण वर्तमान घटनाक्रमले राम्रोसँग पुष्टि गरेको छ’, सुदर्शनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ ‘हाम्रो पार्टीका गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फासीवादको भद्दा नमुना हो ।’

Facebook Comments