हतियार बुझाए मात्र विप्लव नेतृत्वको नेकपासँग वार्ता
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई हतियार बिसाएर वार्तामा आउन आह्वान गरेको छ । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले गोलाबारुद बिसाएर वार्तामा आउन विप्लव नेतृत्वको नेकपालाई आग्रह गर्नुभयो ।
विप्लव समूहलाई सिध्याउने कुरा सरकारले नगरेको बरु बम बारुद नबोक्न, शान्तिपूर्ण रुपमा संवादका माध्यमबाट समस्या समाधान गर्न आग्रह गरेको मन्त्री बास्कोटाको भनाई थियो । उहाँले भन्नुभयो, ‘संवादका लागि सरकार सधैं खुला छ, तर वार्तामा बस्नुअघि हतियार बिसाउनुपर्छ ।’
हत्या, हिंसा, चन्दा आतंकजस्ता विषयलाई छाडेर शान्तिपूर्ण वार्तामा आउँदा कोही पनि सानो नहुने बास्कोटाको भनाइ छ । उहाँले कुनै असन्तुष्टि भएमा शान्तिपूर्ण राजनीति र वार्ताबाट सम्बोधन गर्न सकिने बताउनुभयो । हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

