नेकपाले स्थापना दिवसको अवसर पारेर जिल्ला नेतृत्व घोषणा गर्ने
पार्टी एकता घोषणा भएको झण्डै बर्षदिनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्ला नेतृत्वको टुंगो लगाएको छ । पार्टीको आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला नेतृत्व टुंगो लगाएको हो ।
आइतबार बिहान नेकपाका शीर्ष चार नेताले गरेको गृहकार्यपछि साँझ सचिवालय बैठक बसेको थियो । ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्व एमाले र ३५ मा पूर्व माओवादीले नेतृत्व पाएको श्रोतले जनाएको छ । नेकपाको स्थापना दिवसको अवसर पारेर भोलि प्रज्ञा भवनमा हुने कार्यक्रममा जिल्लाको नेतृत्व घोषणा गर्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
सचिवालयको बैठकले २००६ सालमा स्थापना भएको ७० औं बर्षगाँठ तथा ७१ औं पार्टी स्थापना दिवसका अवसरमा विशेष कार्यक्रम गर्ने निर्णय लिएको पनि उहाँले जानकारी दिनुभयो । छिट्टै पोलिट्व्यूरो गठन गर्ने र केन्द्रीय सदस्यहरुको पनि कार्यविभाजन गर्ने प्रवक्ता श्रेष्ठको भनाई छ ।
पूर्व एकीकृत नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एमाले)वीच भागबण्डा भन्दा पनि उचित कार्यविभाजन गरिएको उहाँको भनाई छ । प्रदेश कमिटीको विषयमा आगामि दिनमा छलफल हुने प्रवक्ता श्रेष्ठले उल्लेख गर्नुभयो ।
लामो समयसम्म पार्टी एकताको विषयमा अन्योल कायम रहेको थियो । जसले गर्दा सांगठनिक गतिविधि हुन सकेको थिएन ।

