पोखरा म्याराथनलाई पोखरेली मञ्च यूकेले सहयोग गर्ने
आगामी फागुन ३ गते पोखरामा हुने १४ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनलाई सफल पार्न पोखरेली मञ्च यूकेले सहयोग गर्ने भएको छ ।
मञ्चका अध्यक्ष मनप्रसाद गुरुङले पोखरामा हुने उक्त प्रतियोगिता पोखरेलीहरुको मात्र नभई सिंगो नेपालसंग समेत जोडिएकोले सो प्रतियोगितालाई सफल पार्न आफ्नो क्षेत्रबाट आर्थिक सहितको अन्य सहयोग गर्ने जानकारी दिनुभयो ।
वेलायतमा लण्डन म्याराथनमा विश्वका धेरै धावकहरु सहभागी हुने गरेको प्रशंग उठाउदै मञ्चका अध्यक्ष गुरुङले पोखरामा हुने उक्त दौडलाई पनि लण्डन म्याराथन स्तरमै चर्चा गर्दै विश्वका धेरै धावकहरुलाई समेट्न सक्नुपर्नेमा जोड दिनुभयो ।
भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङले स्वदेश तथा विदेशबाट प्राप्त सहयोगले पोखरा म्याराथनलाई निरन्तरता दिदै आएको बताउनुभयो ।
विजेतालाई एक लाख पुरस्कार राशी राखिएकोमा यस बर्ष राम्रो सहयोग जुटेमा विजेतालाई तीन लाख सम्मको पुरस्कार राख्ने योजना भएको रहेको उहाँको भनाई छ ।
खेललाई विश्वमा शान्तिसंग जोडन लागिएको अध्यक्ष गुरुङले उल्लेख गर्नुभयो । उक्त खेलले पोखरा क्षेत्रको पर्यटन प्रबर्द्धन हुँदा भिजिट नेपाल २०२० लाई समेत सफल पार्न सहयोग पुग्ने अपेक्षा गरिएको पनि उहाँले उल्लेख गर्नुभयो ।
मंचका सल्लाहकार महेश गुरुङले पोखरामा हुने उक्त इभेण्टलाई धेरै आप्रवासी नेपालीले सहकार्य गर्न खोजेको बताउनुभयो ।

