प्रतिनिधिसभाको बैठकमा काँग्रेस सांसदको नारावाजी
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा काँग्रेस सांसदहरुले नारावाजी गरेका छन् । आफ्ना नेताहरु स्व.गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पताल केन्द्र सरकार मातहत सञ्चालन गर्ने व्यवस्था सरकारले गर्नुपर्ने माग राख्दै काँग्रेस सांसदहरुले बेल घेराउ गर्दै नारावाजी गरेका हुन् ।
सभामुख कृष्णबहादुर महराले आफूले यसअघि नै काँग्रेस सांसदहरुले उठाएका विषयमा सरकारको ध्यानाकर्षण गराईसकेको भन्दै आ आफ्नो स्थानमा बसेर संसदको काम कारवाही अगाडि बढाउनदिन आग्रह गर्नुभएको थियो । तर काँग्रेस सांसदहरुले निरन्तर नाराबाजी गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
साथै काँग्रेसले डा. गोविन्द केसीसँग भएका सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गर्नुपर्ने माग गरेको छ । काँग्रेसको अवरोधका कारण दोस्रो पटकलाई १५ मिनेटका लागि स्थगित गरिएको संसद बैठक सूचना टाँस गरी माघ ११ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।
संसद्मा चिकित्सा शिक्षा बिधेयक पेश गर्न वेलमा पुग्नुभएका शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई रोक्न खोज्दा कांग्रेस र नेकपाका सांसदहरुबीच केहीबेर धकेलाधकेल समेत भएको थियो । मन्त्री पोखरेल नेकपाका सांसद देव गुरुङ र खगराज अधिकारीसँगै रोष्ट्रमतर्फ अघि बढेपछि कांग्रेस सांसदहरु आक्रोशित भएका थिए ।

बैठक शुरु हुनेवित्तिकै विशेष समय लिएर बोल्दै काँग्रेस नेता प्रकाशमान सिंहले लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिने नेताहरुको नाममा खुलेका अस्पताललाई वेवास्ता गरेको आरोप लगाउनुभयो ।
नेता सिंहले आफ्ना नेताहरुको नाममा रहेका अस्पताललाई केन्द्र सरकार मातहत सञ्चालनको व्यवस्था नमिलाएसम्म संसद बैठक सञ्चालन हुन नदिने बताउनुभएको थियो । मन्त्री परिषद्ले ११ वटा अस्पतालहरुलाई संघीय सरकार मातहत ल्याउने प्रस्तावमा ९ वटालाई मात्र ल्याउने निर्णय गरेको थियो ।
सो निर्णयमा काँग्रेस नेताहरु गिरिजाप्रसाद कोइारालको नाममा रहेको तनहुँको स्वास प्रश्वास अस्पताल र सुशील कोइरालाको नाममा रहेको प्रखर क्यान्सर अस्पताल मात्र राजनीतिक पुर्वाग्रह प्रेरित भएर केन्द्र सरकार मातहत नल्याइएको काँग्रेसको आरोप रहेको छ । काँग्रेसले सोही बिषयमा सोमबारको बैठकमा पनि विरोध जनाएको थियो ।

