महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतलाइ

महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३–१ गोलले पराजित भएको हो । उपाधि चुम्ने नेपालकाे सपना चाैंथाेपटक पनि चकनाचुर भएकाे छ । उपाधि हाेडमा रहेकाे नेपाल भारतसँगकाे खेलमा यसअघि पनि पराजित हुँदै आएको थियाे ।

विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजेदेखि सुरु भएको खेलमा भारतका लागि पहिलो गोल डालिमा चिभरले २६ औं मिनेटमा गरिन् । त्यस्तै सुरुमा भारतलाई दबाबमा राखेको नेपालले ३३ औं मिनेटमा बराबरी बनायो । नेपालका लागि सावित्री भण्डारीले गोल गरेकी थिइन् ।

यस्तै पहिलो हाफ एक/एक को बराबरीमा सकिएपनि दोस्रो हाफको १३ औं मिनेटमा भारतले अर्को गोल थप्यो । भारतका लागि ग्रासि डेग्मीले दोस्रो गोल गरेकी हुन् । त्यसपछि खेलमा फर्कने प्रयासमा रहेको नेपाललाई ७८ औं मिनेटमा अर्को धक्का लाग्यो । भारतका लागि ७८ औं मिनेटमा अञ्जु तामाङले तेस्रो गोल गरेकी हुन् ।

Facebook Comments