देशमा विकास शुरू भएकाे छः मुख्यमन्त्री गुरूङ
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टी बलियो बनेसँगै मुलुकमा विकासकाे चरण शुरू भएकाे बताउनुभएकाे छ ।
पोखरा महानगरपालिका वडा नं १६ स्थित तुम्के घोरकुनामा निर्माण गर्न लागिएको पक्की मोटरेवल पुलको शनिबार शिलान्यास गर्दै उहाँले मुलुकमा बल्ल विकासकाे चरण शुरू भएकाे बताउनुभयाे ।
मुख्यमन्त्री गुरूङले कम्युनिष्ट पार्टी बलियो भएर कम्युनिष्टको नेतृत्वमा नयाँ संविधान निर्माण भएर देशमा विकास शुरु भएको बताउनुभयाे । विकास निर्माणका काममा प्रतिपक्षी दल नेपाली काङ्ग्रेसकाे पनि सहयाेग रहेकाे उहाँकाे भनाइ छ ।
यसका साथै काङ्ग्रेसकाे सहयोगमा नै वर्तमान संविधान निर्माण भएकाे धारणा राख्दै मुख्यमन्त्री गुरुङले पञ्चायत, राजतन्त्र लगायतका व्यवस्था हटाइसकिएकाले राजनीतिक रुपमा फाल्नुपर्ने केही नरहेकाले सत्ता पक्ष र प्रतिपक्ष मिलेर विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो।
गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले चालु वर्षका लागि आफूले छनोट गरेर पठाएका एउटा पनि योजना नपर्नु तथा सत्तापक्षका सांसदका ५० भन्दा बढी योजना पारिएको बताउँदै सरकारले विभेद गरेको आरोप लगाउनुभयो । पुल समयमै सम्पन्न गर्ने नाममा गुणस्तरीयतामा सम्झौता गर्न नहुनेमा उहाँले जोड दिनुभयो ।
पूर्व सांसद एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिति सदस्य सोमनाथ अधिकारी(प्यासी)ले समग्र विकासको केन्द्र पुल रहेको चर्चा गर्दै समयमै निर्माण सम्पन्न भएर जनताले उपयोग गर्न पाउनुपर्ने बताउनुभयो ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसीले तोकिएको मितिभन्दा छ महिना अघि पुल निर्माण सम्पन्न गरेर फरफारक गरेको खण्डमा निर्माण व्यवसायीलाई सम्मान गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । महानगरको रु तीन करोड ३३ लाख ३१ हजार ३२५ लागतमा पुल निर्माणका लागि गत भदौ ५ गते फेवा÷पि.एल.जेभीसँग ठेक्का सम्झौता गरिएको थियो ।
वि.सं. २०७७ मङ्सिर ५ गतेभित्रमा निर्माण सम्पन्न गरिने आरसीसी मोटरेवल पुल २५ मिटर लम्वाई तथा फुटपाथ बाहेक पाँच मिटर फराकिलो हुने महानगरका इन्जिीनियर धुव्र भट्टराईले जानकारी दिनुभयो । पुल बनेपछि वडाका काभ्रे, घोरकुना, ताप्ले र्याले, अर्मलाकोट, जोगिमणी तुम्के लगायतका जनता प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष जीवन आचार्यले जानकारी दिनुभयाे ।

